काठमाडौं । नेपाललाई नौ विकेटले हराउँदै दुईपटकको च्याम्पियन वेष्ट इन्डिज आइसिसी टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ ।

तेस्रो खेलमा पराजित भएपछि नेपालको भने सुपर एटमा पुग्ने सम्भावना सकियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वेस्ट इण्डिजविरूद्ध १३३ रन बनाएको थियो । वेस्ट इन्डिजले एक विकेटको क्षतिमा १५.३ ओभरमा एक विकेट गुमाउँदै जित निकालेको हो । नेपालविरुद्ध चार विकेट लिएका तीव्र गतिका बलर ज्यासन होल्डर प्लेयर अफ दि म्याच घोषित भए ।

समूह ‘सी’ मा वेष्ट इन्डिज लगातार तेस्रो जित निकाल्न सफल भयो । यसअघि वेष्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रन तथा इंग्ल्यान्डलाई ३० रनले पराजित गरेको थियो । लगातार तीन जितपछि ६ अंक बटुलेको वेष्ट इन्डिज शीर्ष स्थानमा छ ।

अब नेपालले मंगलबार स्कटल्यान्डसँग अन्तिम खेल खेल्नेछ । वेष्ट इन्डिजले भने समूहको अन्तिम खेल इटालीसँग खेल्ने तालिका छ । समूहमा दोस्रो टोलीको रुपमा सुपर एटमा पुग्न इंग्ल्यान्ड, स्कटल्यान्ड र इटालीमध्ये तीनै टोलीको सम्भावना उस्तै छ ।