काठमाडौं । इंग्ल्यान्डले आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाललाई १८५ रनको विजयी लक्ष्य दिएको छ ।

आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर सुरुमा ब्याटिङ गरको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

पावर प्लेमा नेपालले दुई विकेट लिन सफल भएको थियो । तर, इंग्ल्यान्डले भने अर्कोतर्फबाट आक्रमक ब्याटिङ गर्दै ५७ रन बनायो । पावर प्लेपछि पनि इंग्ल्यान्डले आक्रामक ब्याटिङ गर्दै बलियो स्कोर खडा गर्न सफल भयो ।

इंग्ल्यान्डका लागि बेथेलले सर्वाधिक ५५ रन बनाएका थिए । ३५ बलमा समान चार चौका र छक्का हिर्काएका बेथेललाई दीपेन्द्रसिंह ऐरीले लोकेश बमबाट क्याच गराए । यसअघि २२ वर्षीय बायाँ हाते ब्याटर बेथेलले २८ बलमा समान चार चौका र छक्कासहित अर्धशतक बनाएका हुन् ।

बेथेलले चौथो विकेटका लागि कप्तान ह्यारी ब्रुकसँग ४५ बलमा सर्वाधिक ७१ रनको साझेदारी गरेका थिए । कप्तान ह्यारीले ३२ बलमा ५३ रन बनाए । यसअघि उनले ३१ बलमा चार चौका र तीन छक्कासहित अर्धसतक बनाएका थिए । अर्धशतक बनाएको अर्को बलमै उनी नन्दन यादवको बलमा डेब्यु खेलाडी शेर मल्लको हातबाट क्याच आउट भएका थिए । पहिलोपटक विश्वकप खेलिरहेका नन्दनले पहिलो खेलमै दुई विकेट लिए ।