काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकमा बढ्दो असन्तुष्टि र आक्रोशको समाधान सुधारमार्फत नै खोजिनुपर्ने बताएका छन्। कांग्रेस कास्कीले आज पार्टी कार्यालयमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले नागरिकका गुनासा र निराशाको जवाफ जिम्मेवारीपूर्वक काम गरेर दिनुपर्नेमा जोड दिए।

“नागरिकमा रिस गहिरो हुँदै गएको छ। राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास देखिएको छ,” सभापति थापाले भने, “यो अवस्थालाई सुधारमार्फत मात्र जवाफ दिन सकिन्छ। अविश्वास र निराशालाई आत्मसात् गर्दै देशलाई निकास दिनुपर्ने अवस्था आएको छ। कांग्रेसले अब देशलाई सम्हाल्ने र निकास दिने शक्तिको रूपमा भूमिका खेल्नुपर्छ।”

ADVERTISEMENT

उनले देशमा देखिएको निराशाको मुख्य कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै कांग्रेस अब भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो शक्ति बनेर चुनावमा गएको बताए। विगतमा मुलुकलाई हिंसाको आहालबाट बाहिर निकालेको कांग्रेसले अब भ्रष्टाचारको जालो तोडेर देशलाई अगाडि बढाउने उनको भनाइ थियो।

ADVERTISEMENT

सभापति थापाले निर्वाचनलाई केन्द्रमा राखेर हरेक मतदाताको घरघरमा पुग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए। जनतासँग प्रत्यक्ष संवाद गरी उनीहरूको समस्या धैर्यताका साथ सुन्नुपर्नेमा उनले जोड दिए। “१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेर कांग्रेस निर्वाचनमा होमिएको छ। अब कांग्रेसले देश सम्हाल्छ र सुधार गर्छ भन्ने सन्देश लिएर जनतामाझ जानुपर्छ,” उनले भने, “सबै पार्टी पंक्ति एकताबद्ध भएर निर्वाचनमा जुट्नुपर्छ।”

सभापति थापा बैठकपछि कांग्रेस गण्डकी प्रदेश समितिको बैठकमा सहभागी भएका थिए। बैठकमा प्रदेश सभापति शुक्रराज शर्माले उनको स्वागत गरेका थिए। बैठकको सुरुआत गर्दै सभापति शर्माले जनताको चाहनाअनुसार देशलाई अगाडि बढाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए।

निर्वाचनमार्फत पार्टीलाई अझ सशक्त बनाएर देशका समस्याको समाधानतर्फ अघि बढ्न आवश्यकताअनुसार परिचालित हुन उनले निर्देशन दिए। बैठकमा प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।