सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाको दृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोहीअनुसारको सुरक्षा व्यवस्थापन गर्ने तयारी गरेको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार विगतका निर्वाचनका समयमा भएका घटनाको अध्ययन–विश्लेषणका आधारमा ती चार जिल्लालाई संवेदनशील सूचीमा राखिएको हो। सोहीअनुसार निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी भइरहेको उनले बताए।

उनका अनुसार निर्वाचन बिथोल्न सक्ने गतिविधि गर्न सक्ने तत्वलाई निगरानीमा राख्दै सुरक्षा तयारीलाई सुदृढ बनाइँदै छ। हिमाली तथा भौगोलिक रूपमा विकट क्षेत्रका मतदानस्थलबाट मतपेटिका सदरमुकामसम्म ढुवानी गर्न हेलिकप्टरको व्यवस्था गर्ने तयारी पनि भइरहेको छ।

निर्वाचनको दिन हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका मतदाताले मतदान गर्न पाउने वैकल्पिक व्यवस्था बारे पनि छलफल भइरहेको छ। दार्चुलाको उत्तरी क्षेत्र तिङ्कर र छाङरुङका बासिन्दा हिउँदेयाममा गाउँ छाडेर सदरमुकाम नजिकको तिङ्करखेडा क्षेत्रमा बस्ने भएकाले उनीहरूका लागि सदरमुकाममै मतदान गर्न पाउने व्यवस्था मिलाउने तयारी गरिएको छ।

बाजुराका हिमाली भेगका तीन पालिकाका केही परिवार हिउँदेयाममा चौपायासहित अन्य जिल्लामा बसाइँसराइ गर्ने भएकाले निर्वाचनको दिनसम्म गाउँ फर्किने वा नफर्किने यकिन हुन नसकेको जनाइएको छ। यस्तो अवस्थामा मतदान अधिकार सुनिश्चित गर्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ।

निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन सवारीसाधन नभएका प्रहरी कार्यालयमा सवारीसाधनको व्यवस्था गरिनेछ। बाजुरा, अछाम र डोटीका लागि वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छुट्टै प्रहरी टोली परिचालन गरिने तयारी गरिएको छ। त्यस्तै दार्चुला, बैतडी र कञ्चनपुरका लागि एक टोली तथा बझाङ, कैलाली र डडेलधुराका लागि अर्को टोली परिचालन गर्ने योजना छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रदेशभरि सात हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी परिचालन गरिनेछ। यसका अतिरिक्त सशस्त्र प्रहरी बल र नेपाली सेनाले पनि आ–आफ्नो सुरक्षा योजनाअनुसार जिम्मेवारी सम्हाल्नेछन्।

सुरक्षा मूल्याङ्कनका आधारमा प्रदेशका ३०२ मतदानस्थललाई सामान्य, ३९५ लाई संवेदनशील र ४८१ मतदानस्थललाई अतिसंवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ।

प्रदेशका नौ जिल्लामा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र रहेका छन्। विसं २०७८ को जनगणनाअनुसार प्रदेशको कुल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ छ भने कुल मतदाता संख्या १७ लाख १६ हजार ६६० पुगेको छ।

कैलालीमा सबैभन्दा बढी पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५ र अछाममा एक लाख ६५ हजार ३३७ मतदाता रहेका छन्। एक निर्वाचन क्षेत्र रहेको डडेलधुरामा ९३ हजार ४०३, बैतडीमा एक लाख ५६ हजार ३७२, दार्चुलामा ९२ हजार ९४८, डोटीमा एक लाख २८ हजार ३९९, बझाङमा एक लाख २६ हजार ९०३ र बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन्।

तीन वर्षअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस आठ, तत्कालीन नागरिक उन्मुक्ति पार्टी तीन, नेकपा (एमाले) दुई र तत्कालीन नेकपा (एकीकृत समाजवादी) तीन निर्वाचन क्षेत्रमा विजयी भएका थिए। नयाँ राजनीतिक परिवेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचन विसं २०८२ फागुन २१ गते हुने तय भएको छ।