सिरहा । अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो ।

स्थानीयवासीहरु भन्दथे, ‘अब यो उमेरमा के नागरिकता बनाउँछौ आमा ?’ तर, यादवलाई ‘अनागरिक’ भएर मर्ने इच्छा थिएन । बुधबार जब सिरहाको जिल्ला प्रशासन कार्यालयबाट उनले आफ्नो नागरिकताको प्रमाणपत्र प्राप्त गरिन्, उनका आँखा रसाए । हर्ष र वेदना एकैपटक छचल्कियो । यो केवल एउटा कागजको पाना थिएन, उनको आठ वर्षको संघर्ष र तिरस्कारपछिको विजय थियो ।

ADVERTISEMENT

औरही गाउँपालिका-३ पिपरामा जन्मिएकी यादव २०२३ सालमा नवराजपुर–४ का बौवेलाल यादवको कान्छी श्रीमतीका रूपमा भित्रिएकी थिइन् । जेठी श्रीमतीका चार छोरी भए पनि कपलेश्वरीका आफ्नै सन्तान भएनन् । २०३१ सालमा श्रीमानको निधन भएपछि उनी सहाराविहीन भइन् ।

ADVERTISEMENT

आफ्ना नातेदार र माइतीतर्फका दाजुभाइ सबैको वंशजको नागरिकता भए पनि कपलेश्वरी भने नागरिकताको मूल ढोकामै रोकिएको थियो । श्रीमानको मृत्युपछि अंशका लागि उनले अदालतमा ‘हक कायम’ मुद्दा लडेर जितिन् । अंश मुद्दा जितेर साढे ११ धुर जग्गा त पाइन्, तर त्यही जग्गाको लालपुर्जा र आफन्तका सबै प्रमाण हुँदाहुँदै पनि उनले नागरिकता पाइनन् ।

माइतीले दिएको छ कट्ठा जग्गा पनि उनकै नाममा थियो । तर, विडम्बना नागरिकता नहुँदा न उनले त्यो जग्गा बेचबिखन गर्न पाइन्, न आफूलाई बुढेसकालमा पाल्ने नातिको नाममा नामसारी गर्न नै । उनको बाटोमा तगारो बनेका थिए, गाउँकै जनप्रतिनिधि । विभिन्न कारणले वडा कार्यालयले सिफारिस दिन पटक–पटक इन्कार गरिरह्यो ।

कपलेश्वरीका आफूपट्टिका न त सन्तान छन्, न सहारा दिने श्रीमान् । बुढेसकालले छोप्दै ल्याएपछि उहाँलाई एउटै चिन्ता थियो, अब बाँकी जीवन कसरी काट्ने ? सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउन पनि नागरिकता अनिवार्य थियो । तर, वडाको दैलोबाट रित्तो हात फर्किंदा उनी धेरैपटक रोइन् पनि ।

सञ्चारमाध्यममा नागरिकता प्राप्तिको लागि उजले गरेको संघर्षको कथा आएपछि र गाउँपालिका अध्यक्ष शिवउद्गार यादवले विशेष पहल गरेपछि आठ वर्षपछि मात्र उनको प्रशासनिक उल्झन सुल्झियो । अदालतको ढोका र प्रशासनको चक्कर सकिएपछि बल्ल उनले राज्यको नागरिक हुनुको गौरव महसुस गरेकी छन् ।