काठमाडौं।सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित बनाउने उद्देश्यले मातहतका अधिकृतहरूलाई कडा निर्देशन दिएका छन्। विभिन्न कार्यालयमा नेतृत्व सम्हाल्न लागेका अधिकृतहरूसँगको छलफलका क्रममा उनले सुरक्षा व्यवस्थामा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने स्पष्ट पारे।

आईजीपी अर्यालले निर्वाचन केन्द्रित सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, जोखिम मूल्यांकनका आधारमा तैनाथी बढाउन र उच्च स्तरको व्यावसायिक प्रदर्शन देखाउन निर्देशन दिए। उनले कमजोर कमाण्ड, अनुशासनहीनता वा गल्ती देखिएमा सम्बन्धित कमाण्डरमाथि तुरुन्त कारबाही हुने चेतावनीसमेत दिए।

ADVERTISEMENT

नेतृत्वदायी भूमिकामा खटिने अधिकृतहरूले आफ्नो पदीय मर्यादा कायम राख्दै जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गर्दै अर्यालले कार्यक्षेत्रमा बदमासी वा अनैतिक गतिविधि भेटिएमा तत्काल कारबाही गरिने बताए। साथै, उनले उच्च मनोबलका साथ समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिए।

ADVERTISEMENT

यसैगरी, राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उपायहरूमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै सीमा क्षेत्र तथा संवेदनशील नाकाहरूमा निगरानी सुदृढ गर्न निर्देशन दिइएको छ।