काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । धेरैपछि नेप्से परिसूचक ५७ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको छ । २.१२ प्रतिशतले नेप्से बढेको छ । जेनजी आन्दोलनयताकै सबैभन्दा बढी १३ अर्ब ७८ करोड बराबरको सेयर कारोबार भएको छ ।
आज २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको मात्र घटेको छ । नेप्सेको सबै परिसूचक हरिया देखिएका छन् । आइतबार सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीको ४३ करोड बराबरको कारोबार भएको छ । त्यसपछि ग्रिन भेन्चर लिमिटेडको ३९ करोडभन्दा बढी, शिवम् सिमेन्टको ३२ करोड, युनाइटेड मोदी हाइड्रोपावरको ३० करोड र बन्दीपुर केवलकारको २९ करोड ९० लाख बराबरको सेयर कारोबार भएको छ ।
आज पाँचवटा कम्पनीको १० प्रतिशत सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्ने कम्पनीमा साइप्यानल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवलकार र हिमस्टार ऊर्जा छन् । देश चुनावी माहोलमा होमिएका बेला ठूला लगानीकर्ता सेयर किन्न झुम्मिएका छन् ।







