काठमाडौं।  आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डसँग हार बेहोरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा थाइल्यान्डले नेपाललाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमै दुई विकेटको क्षतिमा पूरा गर्‍यो। अन्तिम क्षणमा आवश्यक दुई रन हुँदा थाइल्यान्डले चौका प्रहार गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।

थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रनको महत्वपूर्ण योगदान दिइन्। उनलाई नानपत कोन्चारोन्काईले ३२ र अफिसरा सुवानचोनराथीले २८ रन बनाएर साथ दिइन्। नेपालका लागि सीता रानामगरले दुई विकेट हात पारिन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा अलआउट हुँदै १२२ रनमै सीमित भयो। नेपालको इनिङ्समा बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् भने सम्झना खड्काले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २६ रन जोडिन्। कप्तान रुबिना क्षेत्रीले दुई छक्का र एक चौकाको मद्दतमा १७ रन बनाइन्।

थाइल्यान्डका बलरमध्ये थिपात्चा पुथावङव उत्कृष्ट रहिन्। उनले चार ओभरमा मात्र १५ रन खर्चेर चार विकेट लिइन्। ओनिचा काम्चोम्फुले दुई विकेट लिँदा अन्य तीन बलरले एक–एक विकेट लिए।

नेपालले अब प्रतियोगिताको दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्सको सामना गर्नेछ।