काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकपछि पार्टीको आधिकारिक वेबसाइटबाट तीन पदाधिकारीका नाम र तस्बिर हटाइएको छ। पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको विवरण वेबसाइटबाट हटाइएको हो।
१४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर पनि वेबसाइटमा देखिन छाडेको छ। उनीसँगै शर्मा र मन्सुरको नामसमेत हटाइएको छ।
यता विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बिहीबार म्याक्सिम्स बैंक्वेटमा बसिरहेको छ ।
बुधबार राति भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति चुनेको छ भने उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चुनेको छ। महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल चुनिएका छन्।












