काठमाडौँ। कश्मीरको शक्सगाम उपत्यकालाई लिएर भारत र चीनबीच फेरि कूटनीतिक विवाद चर्किएको छ। चीनले उक्त क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै भारतको आपत्तिलाई अस्वीकार गरेको छ।

सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले शक्सगाम उपत्यका चीनको सार्वभौमिक क्षेत्रमा पर्ने स्पष्ट पारिन्। “उक्त भूभाग चीनकै हो, त्यसैले त्यहाँ पूर्वाधार निर्माण गर्नु पूर्ण रूपमा जायज छ,” उनले भनिन्।

ADVERTISEMENT

यसअघि भारतको विदेश मन्त्रालयले शक्सगाम उपत्यकालाई भारतीय भूभाग बताउँदै चीनले त्यहाँ गरिरहेको पूर्वाधार विकासप्रति आपत्ति जनाएको थियो। भारतीय पक्षले सन् १९६३ मा भएको चीन–पाकिस्तान सीमा सम्झौतालाई अवैध र अमान्य ठहर गर्दै त्यसलाई भारतले कहिल्यै स्वीकार नगरेको दाबी गरेको छ। साथै, चीन–पाकिस्तान आर्थिक करिडोर (CPEC) लाई पनि भारतले मान्यता नदिएको जनाएको थियो।

भारतका अनुसार जम्मू–कश्मीर र लद्दाख सम्पूर्ण रूपमा भारतको अभिन्न अंग हुन् र शक्सगाम उपत्यकामा यथास्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको उसले निरन्तर विरोध गर्दै आएको छ।

ADVERTISEMENT

यसको जवाफमा माओ निङले चीन र पाकिस्तानले १९६० को दशकमा आपसी सहमतिमा सीमा निर्धारण गरेको बताइन्। “सार्वभौम राष्ट्रको हैसियतले सीमा सम्झौता गर्नु चीन र पाकिस्तानको अधिकार हो,” उनले भनिन्। साथै, CPEC लाई आर्थिक सहकार्यको परियोजना भन्दै यसले स्थानीय विकास र जनजीवन सुधारमा योगदान पुर्‍याउने उनको भनाइ छ।

उनका अनुसार चीन–पाकिस्तान सीमा सम्झौता तथा CPEC ले कश्मीर मुद्दामा चीनको आधिकारिक अडानमा कुनै परिवर्तन ल्याएको छैन।

भारत र चीनबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सन् २०२० मा दोक्लाममा भएको हिंसात्मक झडपपछि सम्बन्ध तनावग्रस्त बनेको भए पनि सन् २०२४ मा हिमाली सीमामा सैनिक तनाव कम गर्ने सहमतिपछि दुवै देशबीच सम्बन्ध सुधारका संकेत देखिएका छन्। सो पश्चात प्रत्यक्ष उडान पुनः सञ्चालन र व्यापार–लगानी विस्तारका प्रयास भएका छन्।

यद्यपि, अरुणाचल प्रदेश (चीनले ‘जाङनान’ भनेर दाबी गर्ने क्षेत्र) लगायतका विषयमा दुवै देशबीच विवाद कायमै रहेको छ। चीनले पटक–पटक उक्त क्षेत्रमा स्थानहरूको नाम परिवर्तन गरेपछि भारतले कडा प्रतिक्रिया जनाउँदै आएको छ।