काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा उभिने नेताहरूको संख्या क्रमशः बढ्दै गएको छ। नेता कृष्णप्रसाद सिटौलानिकट नेताहरूले एकपछि अर्को गर्दै विशेष महाधिवेशनलाई समर्थन जनाइरहेका बेला झापाका प्रभावशाली नेता सुधीर शिवाकोटी पनि खुला रूपमा यस पक्षमा उभिएका छन्।

सिटौलाको गृहजिल्ला झापाबाट ठूलो सहभागिता सुनिश्चित भइसकेको दाबी विशेष महाधिवेशन समर्थकहरूले गरेका छन्। उनीहरूका अनुसार झापाबाट करिब ७० प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने निश्चितजस्तै भएको छ।

पूर्व जिल्ला सभापति शिवाकोटीले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा बलियो बनाउन विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन्। उनले पार्टी केही सीमित समूहको प्रभावमा परेको उल्लेख गर्दै त्यस अवस्थाबाट मुक्त गराउन कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्ने समय आएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शिवाकोटीले पार्टी संस्थापक बीपी कोइरालाको मार्गदर्शनअनुसार कांग्रेसलाई रूपान्तरण र शुद्धिकरण गर्न विशेष महाधिवेशन सफल पार्न आह्वान गरेका छन्। उनले सम्भव भए काठमाडौं पुगेर वा आ–आफ्नो जिल्लामा बसेर भए पनि सक्रिय समर्थन जनाउन कार्यकर्तालाई आग्रह गरेका छन्।

झापा कांग्रेसको संगठन निर्माणमा लामो समय सक्रिय रहेका शिवाकोटी दुई कार्यकाल जिल्ला सभापति भइसकेका नेता हुन्। उनी २०७० सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। यसअघि २०४६ साल र २०६२–६३ को जनआन्दोलनमा झापाको नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले दोस्रो जनआन्दोलनका क्रममा सेनाको हिरासतमा रहेर यातना समेत भोगेका थिए।

हालै राष्ट्रिय सभामा प्रतिनिधित्वका विषयमा असन्तुष्टि जनाएका शिवाकोटीको विशेष महाधिवेशनप्रति खुलेको समर्थनले कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि थप चर्किने र संकेत विशेष महाधिवेशनमा बहुमत हुने सम्भावना बढेको छ।