भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर पछिल्ला वर्षहरूमा रुद्राक्ष खेतीका कारण देशभर नै परिचित बन्दै गएको छ। सुन्तला र अलैंचीका लागि परिचित यो जिल्ला अहिले धार्मिक, सांस्कृतिक तथा आर्थिक रूपमा महत्वपूर्ण मानिने रुद्राक्षको व्यावसायिक उत्पादनबाट नयाँ पहिचान बनाउँदैछ।

प्राकृतिक रूपमा रुद्राक्ष उत्पादनका लागि उपयुक्त हावापानी र माटो रहेको भोजपुरमा हाल करिब एक लाखभन्दा बढी रुद्राक्षका बिरुवा रहेका छन्। विशेषगरी साल्पासिलिछो, षडानन्द, रामप्रसाद र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न वडाहरूमा रुद्राक्षका बगैँचा तीव्र रूपमा विस्तार हुँदै गएका छन्।

षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासका अनुसार नगरपालिका नै अहिले नेपालको ‘रुद्राक्षको राजधानी’को रूपमा स्थापित हुँदै गएको छ। “यहाँ रुद्राक्षको व्यापारबाट करिब सय करोड रुपैयाँ बराबरको आम्दानी भइरहेको छ। एकदेखि २९ मुखेसम्मका रुद्राक्ष बिक्री हुन्छन् र मुख अनुसार मूल्य फरक–फरक हुन्छ,” उनले नेपाल फोटो लाइब्रेरिलाई बताए। उनका अनुसार यहीँका एक किसानले २१ मुखे रुद्राक्ष ७४ लाख रुपैयाँमा बिक्री गरेका छन्।

ADVERTISEMENT

पहिले जंगलमा प्राकृतिक रूपमा मात्र पाइने रुद्राक्षलाई यहाँका किसानहरूले वर्षौंदेखि व्यावसायिक खेतीका रूपमा विकास गर्दै आएका छन्। किसानहरूका अनुसार रुद्राक्ष खेती दीर्घकालीन भए पनि एकपटक उत्पादन सुरु भएपछि वर्षौंसम्म स्थिर र राम्रो आम्दानी लिन सकिन्छ।

ADVERTISEMENT

भोजपुरमा उत्पादन हुने रुद्राक्ष धार्मिक प्रयोजनसँगै सजावट र श्रृङ्गारका सामग्रीमा समेत प्रयोग हुँदै आएका छन्। यहाँका रुद्राक्षबाट माला, ब्रासलेट, कन्ठी, झुम्का, औँठी, पूजा सामग्री लगायतका विभिन्न सामग्री तयार गरिन्छ।

ADVERTISEMENT

स्थानीय बजारमा मात्र सीमित नभई भोजपुरमा उत्पादन भएका रुद्राक्ष र रुद्राक्षजन्य सामग्री काठमाडौं, धरान, विराटनगरजस्ता सहरहरूका साथै भारत र चीनमा समेत निर्यात हुँदै आएका छन्। यसले भोजपुरका किसानहरूको आर्थिक अवस्था सुधारिनुका साथै जिल्लाको समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको छ।