पोखरा । प्रदेश सरकारको २५ करोड रुपैयाँ लगानीमा गण्डकी प्रदेश सभाको भवन एक वर्षदेखि निर्माणाधीन छ ।

पोखरा महानगरपालिका–३ नदीपुरस्थित ७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको भवनको गत वर्ष भदौ ३ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । हाल मुख्य भवनमा पिल्लर ठड्याएर भुईंतलाको स्ट्रक्चर निर्माण भएको छ ।

भवन निर्माणका लागि शहरी विकास तथा भवन कार्यालय कास्की र श्रेष्ठ एन्ड सन्स–इस्ट वेस्ट जेभी, नयाँबानेश्वर काठमाडौंबीच भ्याटसहित २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा ०८१ माघ १८ मा सम्झौता भएको थियो । ३६ महिना ९३ वर्ष०भित्र निर्माण कार्य सक्नुपर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरिएको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

सम्झौताअनुसार ०८४ माघ १७ सम्म ३ तले भवन निर्माण सक्नुपर्नेछ । यो भवनमा ५ वटा संसदीय दलको बैठक कक्ष, ५ वटा भीआईपी कार्यालय भुईंतलामा राखिने छ ।

ADVERTISEMENT

पहिलो तलामा बैठक कक्ष, पिजन होल, सामान्य र भीआईपी कक्ष, मार्सल अफिस, कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फेरेन्स र टिभी स्टुडियो रहने छ । ८० जना क्षमताको दर्शकदीर्घा, बहुउद्देश्यीय बैठक कक्ष, स्टोर र बार्दली दोस्रो तलामा रहनेछ । २ वटा लिफ्टसमेत रहने भवनको बाहिरपट्टि चमेनागृह, पार्किङ हुनेछ ।

प्रदेश सभाको दोस्रो कार्यकालका सांसद पनि आफ्नै भवनमा बस्न पाउने छैनन् । बहालवाला सांसदको कार्यकाल २०८४ मंसिरमा सकिन्छ । ०८४ माघ १७ सम्म निर्माण कार्य सक्नुपर्ने सम्झौता रहेकाले तेस्रो कार्यकालका सांसद आउँदा यो भवन तयार हुनेछ ।

गत वर्ष जेन–जी आन्दोलनअघि नै यो भवन निर्माण थालिएको थियो । आन्दोलनमा संसद भवन क्षतिग्रस्त भएयता कृषि मन्त्रालयको सभाहलमा बैठक हुँदै आएको छ । हाल पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमा अस्थायी सभाहल तयार पारिएको छ । नयाँ भवन निर्माण नसकिँदासम्म यहीँबाट संसद बैठक सञ्चालन हुनेछ ।