सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाका स्थित नेपाल–चीन सिमानामा सीमा स्तम्भको निरीक्षण गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुर, चिनियाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उत्तरी भोटखोला क्षेत्रमा रहेका चारवटा सीमास्तम्भ (६७, ६८/२, ६९/१ र ६९/२) र सीमाको अवस्था निरीक्षण गरेको छ।

ADVERTISEMENT

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक बाबुराम पौडेलका अनुसार, टोलीले इलाकाको वस्तुस्थिति, सीमा चिन्हको अवस्था तथा सुरक्षा व्यवस्था जाँच गरेको छ। निरीक्षण टोलीमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट किमाथाङ्का इन्चार्ज नवीन खतिवडा नेतृत्वमा ११ जना, चिनियाँ तिब्बत क्षेत्रका डिएसपी दावा छिरिङ नेतृत्वमा ७ जना र नेपाल प्रहरीका ५ जना सहभागी थिए।

ADVERTISEMENT

भोटखोला–१, २ र ३ सिधै चीनको भू–भागसँग जोडिएका क्षेत्र हुन्। यहाँ करिब ५ हजार जनसंख्या बसोबास गर्दै आएको छ र अधिकांशले आलु र कोदो खेती गरी जीविका चलाइरहेका छन्। स्थानीय बासिन्दा सीमापारि चाँगा बजारमा गई दैनिक आम्दानी जुटाउँदै आएका छन्।

सङ्खुवासभामा जम्मा २१ वटा सीमास्तम्भ रहेका छन्। किमाथाङ्काको सीमा स्तम्भ धेरै पुरानो भएको बताइन्छ। गत जेठमा आएको बाढीले ७१/१ नम्बरको सीमा स्तम्भ बगाएर बेपत्ता बनाएको थियो, र हालसम्म त्यो स्तम्भ फेला परेको छैन।

ADVERTISEMENT

सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट किमाथाङ्का २०७६ मा स्थापना गरिएको हो। किमाथाङ्का नाका खाँदबारीबाट करिब १६२ किलोमिटरको दुरीमा पर्दछ।