काठमाडौं । शीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्गमा केही दिनदेखि सवारीसाधनहरुको लामो जाम लागेको छ । शीतलहरका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती पाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार विस्तारै विस्तारै सवारीसाधनहरुको जाम कटाए पनि बाक्लो हुस्सुसहित शीतलहर परेका कारण सवारी सञ्चालनमा निकै कठिनाइ भएको छ ।
नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्डतर्फ दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब पन्ध्र सय सवारीसाधनको जाम लागेको सूचना अधिकारी जोशीले बताए ।
नारायणगढ बुटवल सडक खण्ड योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालका अनुसार सडक निर्माण भइरहेको स्थानमा शतिलहरका कारण बाटो हिलो भएर सवारीसाधन दाउन्नेको उकालोमा उक्लन समस्या भएको छ । अहिले खुर्सानी खोला क्षेत्रमा ग्राभेल गर्ने काम भइरहेको र मालबहाक सवारीसाधनलाई बर्दघाट, भुताहा क्षेत्रमा रोकिराखेको सुचना अधिकारी खनालले बताए ।
बुधबार आयोजनाले सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारीसाधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् ।
यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पीपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौं जाने सवारीसाधनहरु काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।
दाउन्ने खण्डमा निर्माण र मर्मतको कामसमेत चलिरहेको छ । सो क्षेत्रमा शीतलहरका कारण राजमार्ग हिलाम्य हुँदा सवारीसाधनहरु सञ्चालनमा कठिनाई उत्पन्न भएको हुदा अत्यावश्यक सवारीबाहेक अन्य सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी







