काठमाडौं। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले बयान दिएका छन्। आयोगमा लिखित तथा मौखिक बयान दिँदै लेखकले आफूले बल प्रयोगको कुनै लिखित वा मौखिक आदेश नदिएको स्पष्ट पारेका छन्।
लेखकले भनेका छन्, “मसँग बल प्रयोगको अधिकारै थिएन, सिडिओले जान्ने कुरा हो।” उनको भनाइअनुसार, प्रदर्शनको समयमा कति र कसरी बल प्रयोग गर्ने भन्ने निर्णय स्थानीय प्रशासन (सिडिओ) र फिल्डमा खटिएका सुरक्षाकर्मीले नै वस्तुस्थितिको आधारमा गर्ने हो। गृहमन्त्रीले त्यस्तो प्रत्यक्ष आदेश दिने कानुनी व्यवस्था नभएको उनको दाबी छ।
आयोगमा पेस गरेको लिखित जवाफमा लेखकले भदौ २२ गते साँझ केन्द्रीय सुरक्षा समितिको बैठकमा शान्तिपूर्ण प्रदर्शनलाई व्यवस्थित गर्न र आवश्यकता अनुसार चरणबद्ध रूपमा बल प्रयोग गर्न निर्देशन दिएको उल्लेख गरेका छन्। तर, आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने कुनै योजना वा निर्णय नभएको उनले प्रष्ट पारेका छन्।
लेखकले भदौ २३ गतेको घटनामा नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको बताए पनि भदौ २४ गतेको हिंसात्मक घटना लोकतन्त्रविरोधी तत्वहरूले आन्दोलन हाइज्याक गरेर गरेको सुनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्। उनले भनेका छन्, “भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायतका प्रमुख निकायमा आक्रमणको घटना कुनै देशभक्त नेपालीले कल्पना गर्न नसक्ने थियो।”
जेन–जी आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग र मानवअधिकार उल्लंघनको आरोपमा लेखकमाथि पनि प्रश्न उठिरहेको छ। उनले पहिलेबाट मा दोषी छैन भन्दै आहिरहेको छु भन्दै जानकारी गराए। आयोगले यसअघि सुरक्षा निकायका उच्च अधिकारीहरूको बयान लिइसकेको छ भने पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत अन्य व्यक्तिहरूसँग पनि बयान लिने तयारी गरेको छ।आयोगको छानबिन प्रक्रिया जारी राखेको छ।