मुस्ताङ । घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ ।

केन्द्रमा भएको तन्तु प्रयोगशाला प्रविधिमामार्फत प्रशारण गरिएको हाइब्रिड स्याउको बीउ छरेर उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउका बिरुवा रोपण गरी उत्पादनतर्फ जोड दिइएको हो ।

हालसम्म तन्तु प्रजनन प्रविधिबाट नेपालमा उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादन भएको छैन । यहाँको केन्द्रले हाईब्रिड स्याउको रुट स्टक बिरुवा उत्पादनको परीक्षणका लागि बिरुवा उत्पादनतर्फ जोड दिन थालेको हो ।

ADVERTISEMENT

नेपालका विभिन्न स्थानमा विभिन्न फलफूलको बिरुवा उत्पादनका लागि तन्तु प्रजनन प्रयोगशाला प्रयोगमा रहेपनि यहाँको केन्द्रले यसप्रकारको हाइब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादनका लागि प्रयोगशालामार्फत एम नाईन रुट स्टक बिरुवाका लागि बीउ उत्पादन गर्न थालेको केन्द्रका जैविक प्रविधि प्राविधिक अधिकृत अशोक लिम्बूले जानकारी दिए ।

ADVERTISEMENT

यसप्रकारको हाइब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न नेपालका अन्य तन्तु प्रजनन प्रयोगशालामा प्रयास गरिए पनि यहाँको केन्द्रको तुलनामा प्रशारण र विकास गर्न नसकेको उनको भनाइ छ ।

ADVERTISEMENT

मुस्ताङको घरपझोङ-२ मार्फास्थित केन्द्रमा २०७८ मा तन्तु प्रजनन प्रयोगशाला प्रविधि स्थापना भएको थियो । स्थापनाको पहिलो तीन वर्ष लगातार यहाँ तन्तु प्रजनन प्रयोगशालामार्फत हाइब्रिड स्याउको प्रविधि प्रशारणतर्फ काम गर्दैआइरहेको केन्द्रका जैविक प्रविधि प्राविधिक लिम्बूले उल्लेख गरे । त्यस अवधिमा केन्द्रले प्रविधिको उपयोग गरी विभिन्न प्रोटोकलको विकास गरिरहेको उनको भनाइ छ ।

यसका अलावा यहाँको केन्द्रले तन्तु प्रजनन प्रयोगशाला प्रविधिलाई पछ्याउँदै फिल्डमा पनि दिशानिर्देशको रुपमा काम गर्दै हाइब्रिड स्याउ बिरुवा उत्पादनको व्यवस्थापनमा जान सकिने निष्कर्षका साथ प्रयोगशालामार्फत बीउ उत्पादन गरी स्याउका एम नाइन रुट स्टक बिरुवा उत्पादनतर्फ अग्रसरता देखाएको अधिकृत लिम्बूको भनाइ छ ।

यहाँस्थित शीतोष्ण बागवानी विकास केन्द्रले यसवर्ष केन्द्रको नाममा रहेको मुस्ताङको घाँसामा एक रोपनी र केन्द्रको मार्फास्थित एक रोपनी जग्गामा तन्तु प्रजजन प्रयोगशालामा प्रशारण भएका करिब ६००० हाइब्रिड एम नाईन रुट स्टक स्याउका कलमी बिरुवा उत्पादन गर्ने गरी प्रक्रिया अघि बढाइएको अधिकृत लिम्बूले जानकारी दिए ।

केन्द्रले आव २०८०/८१ मा तन्तु प्रजनन प्रविधि प्रयोगशालाबाट तीन सय बिरुवा उत्पादन भइसकेको र यो परीक्षणको रुपमा रहेको जानकारी दिए । यसका लागि किसानलाई वितरण गर्नुअघि केन्द्रले पर्याप्त अध्ययन अनुसन्धान गर्ने तयारी गरेको बताए । केन्द्रले चालु आर्थिक वर्षभित्रमा यसको विस्तृत अध्ययन गरेर खरिदकर्ता किसानलाई उपलब्ध गराउने तयारी गरेको जैविक प्रविधि प्राविधिक लिम्बूको भनाइ छ ।

केन्द्रले उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउका बिरुवा उत्पादन गर्न आवश्यक पूर्वाधार नहुुँदा सीमित मात्रामा बिरुवा उत्पादन गर्न थालेको छ । केन्द्रमा पर्याप्त मात्रामा सिसा घर (हाइटेक) भएमा तन्तु प्रजनन प्रविधि प्रयोगशालामाबाट छोटो समयमा ५० हजारदेखि ६० हजारसम्म हाईब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न सकिने सम्भावना रहेको अधिकृत लिम्बूले बताए ।