काठमाडौं । रवि लामिछाने र बालेन्द्र साह बालेनबीच राजनीतिक सहमति भएलगत्तै पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौं मेयरको कुर्सी ताकेका छन् ।
साढे दुई वर्षपछि रिक्त हुने काठमाडौं महानगरपालिकाको मेयरमा हरिशरणले अहिल्यै दावी गरेका हुन् । रास्वपा सभापति रवि र बालेनबीच आइतबार बिहानीपख भएको लिखित सहमतिपछि रविका दाजु हरिशरणले काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा आफ्नो दावी सार्वजनिक गरेका हुन्।
हरिशरणले सामाजिक सञ्जालमा लेख्दै साढे दुई वर्षपछिको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेका हुन् । उनी रेडियो नेपालका अवकाशप्राप्त कर्मचारी हुन् ।
‘दुई भाइको सम्झौताप्रति सम्मान र खुशी ब्यक्त गर्दै काठमाडौ महानगरपालिकाको भावी मेयर पदमा मेरो स्वतन्त्र उम्मेदवारी रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु,’ उनले लेखेका छन् ।
भदौ २४ गतेको जेनजी विध्वंशको समयमा सिंहदरबार जलाइँदा उनले रेडियो नेपालको स्टुुडियो छिरेर राष्ट्रिय प्रशारणलाई १५ मिनेट आफ्नो कब्जामा लिएका थिए ।
बालेन रास्वपा प्रवेशपछि आगामी फागुनमा हुने निर्वाचनमा सांसदकाे उम्मेदवार बन्नेछन् । उम्मेदवार दर्ता गराएकै दिनदेखि उनी स्वतः मेयरको जिम्मेवारीबाट अलग हुनेछन् । त्यसपछि उपमेयर सुनिता डंगोलले कार्यबाहक मेयरका रूपमा जिम्मेवारी सम्हाल्नेछिन् ।








