पाटन (ललितपुर)। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकमा निर्वाचनको विश्वसनीय वातावरण निर्माण गर्न सरकार गम्भीर रूपमा लाग्नुपर्नेमा जोड दिएका छन्।  

ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा आज अपराह्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति गुरुङले हालसम्म देशमा ढुक्क भएर निर्वाचनमा जान सकिने अवस्था सृजना भइनसकेको बताएका हुन् । निर्वाचनको वातावरण अझै परिपक्व नभएकाले सरकार त्यसतर्फ केन्द्रित हुन आवश्यक रहेको उनको भनाइ थियो ।“निर्वाचनको विश्वसनीय वातावरण नबनेकै कारण संसद् पुनःस्थापनाको आवाज उठेको हो,” उपसभापति गुरुङले बताएका हुन् ।

उनले सबै राजनीतिक दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबै मिलेर निर्वाचनमा जानुपर्ने बताए । निर्वाचन प्रक्रिया निर्विवाद, स्वच्छ र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै उनले  सरकारको सम्पूर्ण ध्यान निर्वाचनमै केन्द्रित हुनुपर्ने सुझाव दिएका हुन्।

उपसभापति गुरुङले लोकतन्त्रको सुदृढीकरणका लागि विश्वासिलो निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि राजनीतिक स्थिरता र जनविश्वास कायम गर्न सरकार अग्रसर हुनुपर्ने बताए ।