काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन् ।
उनी आइतबार बिहान आयोग पुगेका छन् । उनले आफूलाई उपाध्यक्षबाट बर्खास्त गर्ने अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध उजुरी दिन लागेका छन् ।
गिरीलाई पार्टीको संस्थापनइतर समूह र कर्णाली प्रदेश समितिको साथ छ । निर्वाचन आयोगमा गिरीलाई साथ दिँदै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र कुन्ती शाहीलगायत संस्थापन इतर पक्षका नेताहरू उपस्थित भएका छन् ।
गत शुक्रबार अध्यक्ष लिङ्देनले मनोनीत उपाध्यक्ष गिरीलाई केन्द्रीय सदस्य पदबाट समेत बर्खास्त गरेका थिए। सो निर्णय पार्टीको विधानविपरीत भएको भन्दै गिरीले उजुरी गर्न लागेका हुन् ।
राप्रपाको कर्णाली प्रदेश समितिले गिरीलाई हटाउने निर्णयप्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेको छ । महामन्त्री कुन्तिकुमारी शाहीसहित राप्रपाका १६ जना केन्द्रीय समितिका नेताले गिरीलाई उपाध्यक्ष पदमा फर्काउन अध्यक्ष राजेन्द्र लिङ्देनसँग संयुक्त रूपमा अपिल गरेका छन्।
‘राप्रपा स्थापनाकालदेखि अनवरत सक्रिय रहनुभएका कर्णाली प्रदेशका जनप्रिय निष्ठावान नेता उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष एवं केन्द्रीय समिति सदस्यबाट पदमुक्त गरेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, शनिबार जारी अपिलमा भनिएको छ, ‘उहाँले पार्टीलाई दिनुभएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः सञ्चालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामूहिक वक्तव्यलाई आधार बनाएरबिना कुनै सूचना र स्पष्टीकरण उहाँलाई विधानविपरीत पदमुक्त गरिँदा कर्णाली प्रदेशका हामी तमाम पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चिन्तित भएका छौँ।’
यसअघि नवराज सुवेदी र सगुन लावती पनि अध्यक्ष लिङ्देनको निर्णयविरुघ निर्वाचन आयोग पुगेका थिए । तर आयोगले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।






