काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले बाेलाएकाे छलफलमा प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा संयाेजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनकाे तयारीका विषयमा छलफल गर्न राष्ट्रपति पाैडेलले बैठक बाेलाएका हुन् । राष्ट्रपतिलाई राेहबर राखेर प्रधानमन्त्री कार्कीले शीर्ष नेतासँग संवाद गरेकी छन् ।
केही समयअघि प्रधानमन्त्री कार्कीले आफूलाई देउवा र ओलीको मुखै हेर्न मन नभएको बताएकी थिइन् । कार्कीको सो अभिव्यक्तिपछि एमाले अध्यक्ष ओली निकै रुष्ट बनेका थिए । फागुन २१ को डेडलाइन नजिकिँदै गर्दा प्रमुख दलहरू चुनावमा जान तयार नभएपछि प्रधानमन्त्री कार्की बाध्य भएर ओली र देउवा भेट्न राजी भएकी हुन् ।
एमाले अध्यक्ष ओलीले सोमबार नै आफ्नो विश्वास पात्र नेता महेश बस्नेतलाई प्रधानमन्त्री कार्कीले बोलाएको सर्वपक्षीय छलफलमा फागुनमा चुनाव हुन नसक्ने भन्दै आफूहरू प्रतिनिधिसभा पुनःस्थापनाको अभियानमा लागेको रहेको सन्देश सुनाएका थिए ।
सोमबारको छलफलमा अधिकांश दलका प्रतिनिधिले प्रधानमन्त्री कार्कीलाई शीर्ष नेतृत्वसँग संवाद गर्न सल्लाह दिएका थिए ।


