काठमाडौं । सरकारले निर्वाचन प्रणालीसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा राजनीतिक दल तथा सरोकारवाला पक्षसँग सुझाव मागेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छलफलमा विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने व्यवस्था, न्तर निर्वाचन क्षेत्र मतदान र ‘नो भोट’ को प्रावधानमाथि बहस भइरहेको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सर्वपक्षीय बैठक बसेको हो । छलफलमा निर्वाचन आयोग, आयोगमा दर्ता भएका विभिन्न दलका प्रतिनिधि,अधिकांश मन्त्री, ती मन्त्रालयका सचिव,नागरिक समाज, सुरक्षा निकायका प्रमुखहरु गरी पाँच दर्जन बढीको सहभागिता छ ।

ADVERTISEMENT

छलफलमा कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, एमालेबाट सचिव महेश बस्नेत नेतृत्वको टोलीले भाग लिएको छ । नेकपाबाट राजेन्द्र पाण्डे, वर्षमान पुन, रास्वपाबाट शिशिर खनाललगायत सहभागी छन् ।

छलफलमा एमाले नेता बस्नेतले सरकारद्वारा गरिएको जेनजी सम्झौता र चुनावप्रति असहमति जनाएका छन् । उनले फागुन २१ गते कुनै पनि हालतमा चुनाव हुन नसक्ने बताए ।
हालै सम्पन्न ११ औं महाधिवेशनबाट सचिवमा निर्वाचित बस्नेतलाई अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको अध्यक्षतामा भएको सर्वपक्षीय भेलामा प्रतिनिधि खटाएका हुन् । बस्नेतसँगै एमालेका तर्फबाट विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक रहेका महेश बर्तौला पनि छलफलमा सामेल छन् ।

तर नेकपा नेता वर्षमान पुनले भने फागुनमै चुनाव हुनुपर्ने बताए । उनले पार्टीलाई नयाँ ढंगले अपडेट गर्न पनि तयार रहेको बताए। पुनले ६ महिनाभित्र अर्को संसद् नआए त्यसको विकल्प सडकबाट आउन सक्ने चेतावनीसमेत दिए। ‘सबैले चुनावबाटै निकास खोजौँ भन्ने कुरा ठीक छ’, उनले भने। उनले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न नपाइने बताए ।