काठमडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा. नरेश सुवेदी नियुक्त भएका छन् । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था बमोजिम बोर्डले उनलाई बिहीबार सदस्य सचिव पदमा नियुक्त गरेको हो ।

२५ वर्षदेखि कोषको सेवामा निरन्तर कार्यरत सुवेदी यसअघि कोषको वरिष्ठ निर्देशक पदको जिम्मेवारीमा थिए। पदीय जिम्मेवारीका क्रममा सुवेदीले नेपालको प्रकृति संरक्षण र जैविक विविधताको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका छन् । उनकै पहल र सक्रियतामा सरकारले ललितपुरस्थित सदर चिडियाखानाको व्यवस्थापन आगामी ३० वर्षका लागि पुनः राष्ट्रिय प्रकृति संरक्षण कोषलाई नै जिम्मा दिने निर्णय गरेको थियो ।

यसका साथै उनको नेतृत्वदायी क्षमता र अन्तरराष्ट्रिय समन्वयका कारण विभिन्न दातृ निकायबाट संरक्षण केन्द्रित दुई सयभन्दा बढी परियोजनाहरू कोषमा भित्रिएका छन् ।

यसैगरी प्राज्ञिक र अनुसन्धानको क्षेत्रमा समेत सुवेदीको उपस्थिति प्रभावशाली रहेको कोषले जनाएको छ । उनका हालसम्म करिब दुई सयभन्दा बढी उच्चस्तरीय अनुसन्धानमूलक कृतिहरू प्रकाशित भइसकेका छन् भने दुई दर्जनभन्दा बढी शोधकर्तालाई विद्यावारीधि (पिएचडी) तहमा मार्गदर्शन गरेका छन् ।

संरक्षण विज्ञान र व्यवस्थापनमा दख्खल राख्ने वेदीको कार्यकालमा प्रकृति संरक्षण, वन्यजन्तु व्यवस्थापन र जलवायु अनुकूलनका क्षेत्रमा थप नवीन र रणनीतिक उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।