काठमाडौं । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नाम डडेल्धुराबाट एकल सिफारिस भएको छ । बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले देउवालाई एकल सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

जिल्ला सभापति भीम साउदका अनुसार प्रत्यक्षतर्फको उम्मेद्वारका लागि देउवाको नाम सर्वसम्मत रुपमा एकल सिफारिस गरिएको हो । राजनीतिक वृत्तमा देउवाले सक्रिय राजनीतिबाट विश्राम लिनसक्ने विश्लेषण भइरहँदा उम्मेद्वार सिफारिसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

देउवाले केही दिनयता भेट्न पुग्ने पार्टीका नेता कार्यकर्तासँग अन्तिमपटक डडेल्धुराबाट चुनाव लड्ने इच्छा जाहेर गर्ने गरेका थिए । देउवा सातपटकसम्म डडेल्धुराबाट निर्वाचित भएका थिए । अब उनी आठौंपटक उम्मेदवार बन्ने तयारीमा छन् ।

नेपालमा देउवा मात्र एक त्यस्ता समकालीन नेता हुन् जो एउटा पनि संसदीय निर्वाचनमा पराजित भएका छैनन् । देउवा पत्नी आरजु राणा कैलाली क्षेत्र नम्बर ५ बाट सिफारिस भइसकेकी छन् ।