काठमाडौँ,  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आधुनिक विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्‍याउने साधन मात्र नभई नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानव–केन्द्रित सेवाको समन्वय भएको बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा नेपाल एयरलाइन्स क्याबिन क्रु एसोसिएसन (सी–क्यान)ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले विश्वभर उडानलाई अझ सुरक्षित, पर्यावरणमैत्री, समयानुकूल र यात्रु–अनुकूल बनाउन निरन्तर नयाँ–नयाँ प्रविधि र नवप्रवर्तन विकसित भइरहेको उल्लेख गरे ।

ADVERTISEMENT

मन्त्री सिन्हाले भने , “स्मार्ट विमान, हरित इन्धन, कृत्रिम बौद्धिकतामा आधारित सेवा प्रणाली, डिजिटल चेक–इन र उन्नत सुरक्षा प्रक्रियामा नवीनतम प्रविधिको विकास भइरहेको छ। तर यी सबैको केन्द्रमा मानवको भूमिका नै प्रमुख हुन्छ—विशेषगरी क्याबिन क्रूको योगदान अत्यन्त महत्वपूर्ण छ।”

ADVERTISEMENT

उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको भूमिकासमेत सम्हालिरहनुभएका उहाँले नवप्रवर्तन कागजमा मात्र सीमित नहुने, त्यसलाई क्याबिनभित्र जीवन्त रूपमा कार्यान्वयन गरी यात्रुसम्म पुर्‍याउने दायित्व क्याबिन क्रूमै रहने बताए।

“तपाईंहरूको सीप, अनुकूलता, सिक्न र अगाडि बढ्न तयार हुने क्षमताका कारण विमान सेवा आजको आधुनिक स्तरसम्म पुगेको हो। प्रविधिले उडानलाई आधुनिक बनाउँछ, तर यात्रुका लागि आवश्यक मानवीयता, मुस्कान, सहानुभूति र धैर्यता भने सदैव क्याबिन क्रूबाटै प्राप्त हुन्छ,” मन्त्री सिन्हाले जोड दिए।

ADVERTISEMENT

नयाँ चुनौतीसँगै नयाँ समाधान, प्रविधि र प्रक्रिया आउने उल्लेख गर्दै उहाँले क्याबिन क्रूको पेशा ती परिवर्तनहरूसँग कदम–कदम मिलाएर अघि बढ्ने पेशा भएको बताए। उडानका क्रममा देखापर्न सक्ने मेडिकल आपतकाल, अनियमित मौसम वा यात्रुको मनोवृत्तिमा क्याबिन क्रूले देखाउने साहस, करुणा र अनुकूलताले नै संस्थाको पहिचान निर्माण हुने बताउँदै मन्त्री सिन्हाले क्याबिन क्रूको भूमिकाको उच्च प्रशंसा गरे।