काठमाडौँ । गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाबारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एकजना सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गर्नुभएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ । घटनाका सम्बन्धमा छानबिन गर्न प्रधानमन्त्री सुशिला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन् । कार्कीले शनिबार राति सामाजिक सञ्जालमार्फत यो घटनाले आफू गम्भीर भएको उल्लेख गर्दै तत्काल छानबिन गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी अञ्जु थारुले नागरिकता नपाएको भन्दै कात्तिक २२ गते आत्महत्याको बाटो रोजेकी थिइन् । छोरीको मृत्युको शोकमा रहेका उनका बाबु कान्छाले पनि त्यसको चार दिनपछि आत्महत्या गरेका थिए ।







