काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुईपटक सूचना प्रकाशित गर्दा पनि आवेदन नपरेपछि शिक्षामन्त्री महावीर पुन असन्तुष्ट बनेका छन् ।

सुदूरपश्चिमको पहिलो चिकित्सा विश्वविद्यालयका रूपमा स्थापित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञानमा उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गते सूचना प्रकाशित गरी कात्तिक ३० गतेसम्मको समय दिएको थियो। उक्त अवधिमा आवेदन नपरेपछि मंसिर ५ गतेसम्मका लागि म्याद थपिएको थियो। तर, थपिएको समयमा पनि कुनै उम्मेदवारले चासो देखाएका छैनन् ।

ADVERTISEMENT

मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जालमार्फत देशभक्त सन्तानलाई निवेदन दिन सुझाएका छन् । नभए आफैंलाई सिधै सम्पर्क गर्न उनले आह्वान गरेका छन् ।

ADVERTISEMENT

‘सुदूरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि उपकुलपति पदको विज्ञापन दुईपटकसम्म गर्दा पनि कसैको निवेदन परेन। त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भई १० वर्ष काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस् ।’

संघीय संसदबाट पारित ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो। कैलालीको गेटमा सरकारले ६ अर्बको लागतमा अस्पताल सञ्चालन गरिरहेको छ ।

ADVERTISEMENT