काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको बताएका छन् । अहिलेको सरकार कुनै पनि कोणबाट वैध ठह¥याउन नसक्ने भन्दै सर्वोच्च अदालतबाटै यसको परीक्षण हुनुपर्ने उनको भनाइ छ ।
शनिवार एमाले बागमती प्रदेश कमिटीले भृकुटीमण्डपमा आयोजना गरेको विशाल जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, ‘यो सरकार संविधानले कुनै पनि कोणबाट वैध ठहर्याउन सक्ने अवस्था छैन । यस्तो असंवैधानिक सरकारको अन्तिम परीक्षण सम्मानित सर्वोच्च अदालतबाटै हुनै पर्छ । अदालतमा यो मुद्दा लिएर जाने जिम्मेवारी एमालेले लिनेछ ।’
ओलीले वर्तमान सरकारलाई हिंसा, आगजनी र तोडफोडको बलमा बनेको तथा लोकतान्त्रिक प्रक्रियालाई कुल्चिएर असंवैधानिक ढंगले सत्ता कब्जा गरिएको आरोप लगाए । उनले एमाले देशको स्वाभिमान, शान्ति, सुशासन र लोकतन्त्रको रक्षाका लागि स्थापित पार्टी भएको दाबी गर्दै भने, ‘यो देशमा एमाले छ भन्ने कुरा सबैले राम्ररी बुझ्नुपर्छ । कसैले जतिसुकै अलोकतान्त्रिक र असंवैधानिक ढंगले एकछिन सरकार कब्जा गरे पनि एमालेले जनताको बलमा लोकतन्त्रलाई पुनर्स्थापित गरेर छाड्छ ।’
जेनजी आन्दोलनबाट सत्ताच्यूत भएका ओलीले मिचिएको संविधानलाई फेरि नमिचिने बनाएरै छाड्ने दाबी गरे । ‘अराजकताको यो शासन लामो समय टिक्दैन। एमाले जनताको साथ लिएर छिट्टै सुशासन र शान्ति स्थापना गर्नेछ,’ उनले भने ।
एमाले महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई ‘विध्वंसको जगमा बनेको सरकार’ को संज्ञा दिँदै यसले निर्वाचन गराउने कुनै मनस्थितिमा नरहेको आरोप लगाए । ‘विध्वंसको जगमा उभिएको यो सरकार चुनावको कुरा गर्छ, तर वास्तविकता के हो भने यो सरकार निर्वाचन गराउने बाटोमा एक इञ्च पनि अघि बढेको छैन,’ उनले भने ।







