काठमाडौं । जेनजी आन्दोलनपछि सबैभन्दा धेरै किचलो नेपाली कांग्रेसभित्र देखिएको छ । नियमित कि विशेष महाधिवेशन भन्नेबारे नेताहरूबीच बेमेल छ ।
कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल यही मंसिर मसान्तमा सकिँदैछ । त्यसैले मंसिर वा पुसभित्र नियमित महाधिवेशन गर्नैपर्ने हुन्छ । यदि नियमित महाधिवेशन हुन नसकेमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बुझाएकाले तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर संस्थापन र इतर समूहबीच महाधिवेशनबारे विवाद कायमै छ ।
सभापति शेरबहादुर देउवा पक्ष चुनावअघि महाधिवेशन नगर्ने अडानमा छन् । उनीहरूको मुख्य चासो चुनावमा टिकट बाँड्ने देखिन्छ । यदि महाधिवेशनबाट नयाँ नेतृत्व आएमा आफ्नो हातको शक्ति गुम्ने भय संस्थापन पक्षलाई छ । त्यसैले गर्दा पनि उनीहरू कांग्रेसमा आन्तरिक कलह चर्काइरहेका छन् ।
संस्थापन इतर समूह भने महाधिवेशन गराएर फ्रेस अनुहारसहित चुनावमा होमिने पक्षमा छ । जसले गर्दा जेनजी आन्दोलनको म्यान्डेट पनि पूरा हुने उनीहरूको बुझाइ छ । त्यसकै कारण कांग्रेस केन्द्रीय समिति बैठक सरेको सरै छ । शनिबारलाई तोकिएको बैठक सोमबारसम्म स्थगित गरिएको थियो । फेरि बिहीबारलाई सारिएको छ । कांग्रेसका पूर्वपदाधिकारीहरूको ढिपीले देउवासमेत दबाबमा परेका छन् ।
स्वास्थ्योपचारपछि शुक्रबार काठमाडौं आइपुगेका सभापति देउवाले पार्टीभित्र देखिएको विवाद टुंगो लगाउन नेताहरूसँगको छलफललाई तीव्र बनाएका छन्। विशेष महाधिवेशनका पक्षमा रहेका महामन्त्रीहरूका साथसाथै फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशनको पक्षमा देखिएका नेता शेखर कोइरालासहितका नेताहरूसँग सभापति देउवाका साथै कार्यवाहक सभापति पूर्वबहादुर खड्काले पनि छलफल जारी राखेका छन्। त्यसका साथै पार्टीका पूर्वपदाधिकारीहरूसँग पनि नेताहरूले छलफललाई तीव्र बनाएका छन्, तर आइतबार साँझसम्म नेताहरू कुनै सहमतिमा पुग्न सकेका छैनन् ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनलाई टार्न नसकिने अडानमा रहेको र संस्थापन पक्षका अधिकांश नेताहरू फागुन २१ पछि मात्र महाधिवेशनको पक्षमा उभिएका छन्। त्यसबेलामा नियमित महाधिवेशनको पक्षमा उभिएका नेता कोइराला पुसको अन्तिम सातासम्म महाधिवेशनको पक्षमा छन्। त्यसले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावना पनि समेटिने उनले दाबी गर्दै आएका छन्।







