काठमाडौं । लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ। नेपाली कांग्रेसका नेता दीपक खड्काको खड्का ल्याण्ड डेभलपमेन्टले भोगचलन गरिरहेको संरचनामा डोजर चलाएर भत्काइएको हो ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको निजी सचिवालयले बिहीबार बिहान साढे ८ बजे मन्त्री गुप्ता खड्काको कम्पनीमा ताला लगाउने सूचना निकालेको थियो । गुप्ता काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेन निकट हुन् । उनको सचिवालयमा बालेन निकट हाबी छन् ।

तर महानगरको डोजरसँगै हामी नेपालका संयोजक सुधन गुरुङ पनि लैनचौर पुगेका थिए । त्यहाँ उनले संरचना भत्काउने कामको नेतृत्व गरेका थिए । गुरुङले केही बाहेकका सबै जेनजीहरु एक ठाउँमा रहेको भन्दै माग पूरा हुनुपर्ने बताए।

जेनजीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताए।  जेनजीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले सो संरचनाबाट उठ्नुपर्ने बहाल बक्यौता नतिरेको भन्दै सात दिनको अल्टिमेटम जारी गरेको थियो।स्काउटले २०६५ सालमा भाडामा दिएका तीन रोपनी जग्गामा लैनचौर ब्याङ्क्वेट र माई च्वाइस रेस्टुरेन्ट सञ्चालनमा थिए। साथै, खड्का ल्याण्डले स्काउटका दुई व्यावसायिक भवन पनि भाडामा लिएर ३६ र १२ वटा पसल सञ्चालन गरिरहेको थियो।

स्काउटका अनुसार पटक–पटक ताकेता गर्दा पनि बहाल तिर्न नमानेपछि संरचना भत्काएर जग्गा फिर्ता लिन बाध्य हुनुपरेको हो। स्काउटले चेतावनी दिएको थियो कि बक्यौता नतिरे र सम्झौताअनुसार नचले व्यवसायिक संरचना जफत गरिनेछ। काठमाडौंका मेयर बालेन्द्र साह बालेन पहिलेदेखि नै त्यहाँको अवैध संरचना भत्काउन चाहन्थे । तर अदालतको आदेशले रोकिएको थियो । अहिले जेनजीको सरकार भएकाले भत्काइएको हो ।