काठमाडौं, कात्तिक २२ – जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि करिब दुई महिनादेखि बन्द रहेको चन्द्रागिरी केबलकार र भालेश्वर मन्दिर पुनः सञ्चालनमा आएको छ। मर्मत–सम्भार र पुनर्संरचनाका काम पूरा गरेपछि आज (शनिबार)देखि सर्वसाधारणका लागि सेवा पुनः खुला गरिएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ।

भदौ महिनामा आन्दोलनका क्रममा केबलकार स्टेसन, टिकट काउन्टर, र मन्दिर क्षेत्रका संरचनामा क्षति पुगेको थियो। उक्त क्षतिपछि सुरक्षाको कारण देखाउँदै केबलकार सेवा अस्थायी रूपमा बन्द गरिएको थियो। कम्पनीका अनुसार सो अवधिमा सम्पूर्ण मर्मत–सम्भार, प्रणाली परीक्षण र सुरक्षा व्यवस्थाको पुनर्समीक्षा गरिएको हो।

ADVERTISEMENT

आज बिहानदेखि केबलकार सेवा सुचारु भएसँगै चन्द्रागिरीमा पर्यटक र भक्तजनहरूको उल्लेखनीय भीड देखिएको छ। बिहानैदेखि यात्रुहरू भालेश्वर मन्दिर दर्शनका लागि चन्द्रागिरी पुगेका थिए। लामो समयपछि मन्दिरका घण्टी बज्दा र केबलकार सञ्चालनमा आउँदा स्थानिय व्यापारी, होटल व्यवसायी तथा कर्मचारीहरूमा खुसी छाएको छ।

चन्द्रागिरी हिल्सका महाप्रबन्धक राजु कँडेलका अनुसार पुनः सञ्चालनअघि सम्पूर्ण प्रणालीको प्राविधिक परीक्षण गरिएको र यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ। उनका अनुसार, “हामीले केबल लाइन, पाइलन र कन्ट्रोल सिस्टम सबै परिक्षण गरेका छौं। अहिले सेवा पूर्ण सुरक्षित र सहज छ।”

ADVERTISEMENT

त्यस्तै, भालेश्वर मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा नयाँ बत्ती, सीसीटीभी क्यामेरा र सुरक्षा गार्ड थपिएको जानकारी दिएको छ। मन्दिर क्षेत्रमा स्वच्छता अभियान पनि सञ्चालन गरिएको छ, जसअन्तर्गत बाटोघाटो र सरसफाइमा विशेष ध्यान दिइएको छ।

स्थानिय व्यापारीहरूका अनुसार, सेवा बन्द रहँदा दैनिक आम्दानी शून्य नजिक पुगेको थियो। आजबाट सेवा सुरु भएपछि पुनः व्यवसायिक चहलपहल फर्किएको बताइन्छ। चिया पसलदेखि होटल, सवारी सेवासम्म सबै पुनः सक्रिय भएका छन्।

भक्तपुरबाट आएका एक पर्यटक सुबास तामाङले भने, “दुई महिना पछि चन्द्रागिरी आउँदा निकै उत्साह लागेको छ। पहिले जस्तो भीडभाड फेरि फर्किएको देख्दा खुसी लाग्यो।”

चन्द्रागिरी हिल्स नेपालकै प्रमुख पर्यटन गन्तव्यहरूमध्ये एक हो, जहाँबाट काठमाडौं उपत्यका र हिमाल श्रृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। सन् २०१६ देखि सञ्चालनमा आएको यो केबलकार सेवा दैनिक सयौं पर्यटकले प्रयोग गर्ने गर्दछन्।

कम्पनीले आगामी दिनहरूमा पर्यटक आकर्षण बढाउने उद्देश्यले नयाँ “विन्टर फेस्टिभल” आयोजना गर्ने योजना समेत बनाएको जनाएको छ। सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय परिकार मेला र मनोरञ्जनात्मक गतिविधिहरू हुने बताइएको छ।

दुई महिनापछि पुनः सञ्चालनमा आएको चन्द्रागिरी केबलकार र भालेश्वर मन्दिरले देशको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने अपेक्षा गरिएको छ।