नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणका कारण श्वासप्रश्वासजन्य रोगको सम्भावना बढेको छ । चिकित्सकहरूले रूघाखोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगहरूबाट पीडित विरामीहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको बताएका छन् ।

मिडियाका अनुसार भारतको नयाँ दिल्लीका अस्पतालहरू विगत केही दिनदेखि त्यस्ता बिरामीहरूले भरिएका छन् । दिल्लीको दक्षिणी भागमा धुवाँको तह बढ्दै गए पछि बिहीबार, दिल्लीका धेरै क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक ‘खराब’ श्रेणीमा रहेएको जनाइएको छ ।

वायु प्रदूषण नियन्त्रण गर्न सरकारले रुख तथा ‘सडकमा पानी छर्कने दिल्लीको शान्तिपथ क्षेत्रमा स्ट्रिट लाइटका खम्बाहरूमा वाटर मिस्ट स्प्रेयरहरू जडान गर्ने’ जस्ता विभिन्न उपायहरू गरिरहेको जनाइएको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दिल्लीमा प्रदुषित र विषाक्त धुवाँको तह बढ्दै गएका कारण डाक्टरहरूले आँखाको समस्यामा ६० प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेका छन् । डाक्टरहरूले प्रदूषित धुवाँ फोक्सोका लागि मात्र नभई आँखाका लागि पनि हानिकारक हुने चेतावनी दिएका छन् ।

दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा मेडिसिनका प्राध्यापक पुलिनकुमार गुप्ताले आफू काम गर्ने अस्पतालमा वायु प्रदूषण सम्बन्धी रोगबाट पीडित बिरामीहरूको सङ्ख्या २२–२५ प्रतिशत रहेको बताएका छन् ।

वायु प्रदूषणका कारण दिल्लीका बासिन्दाहरु प्रभावित भएको उल्लेख गर्दै बालबालिका र वृद्धवृद्धाहरू सबैभन्दा धेरै जोखिममा रहेको डाक्टरहरुले बताएका छन् । उनीहरुले दिल्लीका बासिन्दाहरूलाई सकेसम्म बाहिरी गतिविधिमा संलग्न नभइ अत्यावश्क कार्यहरु घर भित्रै बसेर गर्न सल्लाह दिएका छन् ।