काठमाडौं । पछिल्लो एक सातामा पर्वतारोहण र पदयात्रामा गएका पर्यटकरसहयोगीमध्ये ४ जनाको मृत्यु भएको छ ।५ पर्यटक वेपत्ता छन् ।
पर्यटन विभागका अनुसार गोरखा जिल्लामा अवस्थित पानवरी हिमाल (६८८७ मिटर) आरोहण गर्न अल्पाइन ट्रेकिङ सर्भिसमार्फत अनुमति प्राप्त २ इटालियन आरोही फार्रोनेटो स्टेफानो र क्यापुटो आलेसान्द्रो ११ कात्तिकदेखि भारी हिमपातमा हराइरहेका थिए ।
उनीहरुलाई मृत अवस्थामा फेला पारी आज शव काठमाडौं ल्याइएको विभागले जनाएको छ ।
उता, डिमर्श डेस्टिनेशन ट्रेक एण्ड एक्सपिडिसनबाट डोल्मा खाङ (६३३२ मि) हिमाल आरोहणका लागि अनुमति लिएकामध्ये पाओलो कोक्को (इटाली) र मार्को डी मार्सेलो (क्यानडा) दोलखाको येलुङ रि पिक आरोहणका क्रममा वेपत्ता भएका छन् ।
दोलखाको हिमपहिरोमा परी ती दुई आरोहीसहित थप तीन विदेशी आरोही समेत वेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।






