काठमाडौं । प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई मंगलबार गोरखाबाट पक्राउ गरेको हो ।
प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएका कारण पक्राउ गरिएको हो ।
गोरखा नगरपालिका-८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कात्तिक १६ गते आन्दोलन गर्ने घोषणा गरेका भुसाल सो दिन सम्पर्कविहीन भएका थिए । सामाजिक सञ्जालमा लाइभ आए पनि सडकमा उनको उपस्थिति देखिएको थिएन ।
बालुवाटारमा ड्रोन खसाल्नेसहितका अराजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो । भुसालले आफू कतै फरार नभएको भन्दै फेसबुकबाट लाइभ प्रसारण गरेका थिए ।
भुसाल यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् । सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहँदा फोटो खिचेर सामाजिक सञ्जालमा हालेको अभियोगमा उनी पक्राउ परेका थिए । त्यस्तै, केही दिनअघि पनि उनी माइतीघरबाट पक्राउ परेका थिए ।








