महेन्द्रनगर। यदि विपिन जोशी आज जिउँदै फर्किएका भए, महेन्द्रनगरको सडक उत्सवमा बदलिन्थ्यो। विमानस्थलदेखि घरसम्म स्वागतका फूलमाला ओइरिन्थे। तर दुई वर्षदेखि प्रतीक्षामा बसेका परिवार र देशका सबै नेपालीले अन्ततः उनको मृत शरीर मात्रै पाए।

हमासले अपहरण गरी बन्धक बनाएका कञ्चनपुरका विपिन जोशी फर्किए तर काठको बाकसमा। इजरायल–हमास युद्धको शुरुवातमा बन्धक बनाइएका विपिनको टाउकोमा गोली हानेर हत्या गरिएको इजरायली फरेन्सिक रिपोर्टले पुष्टि गरेको छ।

आज बिहान महाकाली नदी किनारको भुजेलाघाटमा विपिनलाई अन्तिम बिदाइ गरियो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर विपिनलाई श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि सशस्त्र प्रहरीको टुकडीले सलामी दिई देशको सम्मान प्रकट गर्‍यो।

नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले इजरायली राष्ट्रपतिको सन्देश सुनाउँदै विपिनको पार्थिव शरीरमा इजरायली झण्डा ओढाए। शवसँगै आएका टोलीले भुजेलाघाटमै अन्त्येष्टीसम्म सहभागिता जनाए।

कृषि अध्ययनका लागि इजरायल पुगेका विपिन हमासको आक्रमणपछि अपहरणमा परेका थिए। परिवार, सरकार र अन्तर्राष्ट्रिय प्रयासबीच दुई वर्ष लामो प्रतीक्षापछि विपिनको मृत्युको खबर गत असोजमा पुष्टि भयो। सोमबार काठमाडौं ल्याइएको उनको शव आज गृहजिल्ला कञ्चनपुरमा बुबा महानन्द जोशी र ठुलाबुबा रामदत्त जोशीले दागबत्ती दिए।

विपिनको अन्त्येष्टीमा स्थानीय जनप्रतिनिधि, इजरायली दूतावासका अधिकारी, परिवारजन, इष्टमित्र र सयौं सर्वसाधारणको उपस्थितिले भुजेलाघाट निसब्द बनायो। हेर्दा हेर्दै विपिन जोशी भुजेलाघाटमा धुवा बनेर बिलाए