काठमाडौं । सोमबार रातिदेखि काठमाडौं उपत्यकाका सडक र चोकमा सुरक्षाकर्मीको बाक्लो तैनाथी बढाइएको छ । जेनजी युवाहरूका गतिविधि बढ्न थालेपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको हो ।
संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र जेनजी आन्दोलनमा दमनकारी भूमिका खेल्ने शीर्षस्थ नेताहरूलाई पक्राउ गर्न चौतर्फी दबाब बढ्न थालेपछि राजधानीका मुख्य सार्वजनिक स्थल तथा सरकारी कार्यालयहरूमा प्रहरीको तैनाथी बढाइएको हो ।
जेनजीहरूले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाव दिइरहेका छन् । जेनजीको एक समूहले मंगलबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तहरूको राजीनामाको माग गर्दै औपचारिक रूपमा निवेदनसमेत दर्ता गराएको छ ।
ओली र लेखकलाई पक्राउ गर्नेबारे सोमबार बेलुकी प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरूसँग छलफलसमेत गरेकी थिइन् । यद्यपि प्रहरीले लिखित जवाफ माग गर्दै जाहेरी लिन नमानेको बताइएको छ ।
भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनमा आगो लगाउने र लगाउत उक्साएको आरोपमा काठमाडौंका मेयर बालेन्द्र साह बालेनलगायतलाई पनि पक्राउ गर्न जाहेरी आए के गर्ने भनेर प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रश्न गरेपछि प्रधानमन्त्री कार्की नाजवाफ बनेकी थिइन् । सुरक्षा प्रमुखहरूले न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा मात्र कारबाही गर्नुपर्ने सल्लाह र सुझाव दिएका छन् ।








