काठमाडौं । आगामी बुधबारदेखि तिहारलाई लक्षित गरेर ललितपुरको जावलाखेल मैदानमा तिहारको अवसरमा पाँच दिने गोदावरी फूलको प्रदर्शनी हुने भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) को आयोजनामा १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुन लागेको जानकारी गराएको छ ।
यो वर्षको फूल प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने रहेको छ ।
बृहत् गोदावरी फूल प्रदर्शनीमा ८० वटा व्यवसायिक स्टल रहने छन् । अफिसियल स्टल पाँच, प्रतियोगितात्मक र सेल्फी स्टल दुई दुई र प्लान्ट क्लिनिक एक गरेर कुल ९० वटा प्रदर्शनी कक्ष रहने छन् ।
प्रदर्शनीमा नर्सरीले उत्पादन गरेका गोदावरी फूलका पाँच प्रजातिमा प्रतिस्पर्धा गराइने छ । मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजातीमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्कृष्ट स्टलतर्फसमेत प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई शिल्ड नगद र प्रमाणपत्र प्रदान गरिने छ ।
मेलामा ४५० बढी प्रकारका फूलका बिरुवा प्रदर्शनीमा राखिने छ । आयोजकले ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड ३० लाख बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरेका छन् ।
तिहारमा ४५ लाख माला खपत हुने
फ्यानका अनुसार यो वर्षको तिहारमा ४५ लाख माला खपत हुने अनुमान गरिएको छ । फ्यानले बजारको कूल मागको ९० प्रतिशत स्वदेशी उत्पादनले थेग्ने जानकारी दिएको छ ।
महासचिब हिरामणिशर्माका अनुसार यो वर्ष नेपालमा ४० लाख थान सयपत्री माला, ५ लाख ५० हजार थान मखमली माला, ५० हजार गोदावरी माला र २० हजार मिक्स माला खपत हुनेछ । यसमध्ये मिक्स मालाका लागि आवश्यक पर्ने गुलाफ लगायत फूल भने आयातमा भर पर्नुपर्ने देखिन्छ ।
यसबाहेक युरोप, अमेरिका र खाडी मुलुकमा रहेका नेपाली समुदायको लागि करिब २ लाख थान मखमली माला निर्यातसमेत हुँदै आएको छ । शर्माका अनुसार यो वर्ष सयपत्री मालाको ८० देखि ८५ रुपैयाँ र मखमली मालाको ४० देखि ४५ रुपैयाँ थोक मूल्य पर्नेछ । यसमा भ्यालु एड भएर उपभोक्ताले किन्दा केही महँगो पर्नेछ ।
मिश्रित मालाको खुद्रा मूल्य प्रतिमाला ३ सयदेखि १ हजार रुपैयाँसम्म पर्न सक्ने उनले बताए । यस्तै गोदावरी फूलको माला भने उपभोक्ताको रोजाइ अनुसार १ हजारबाट सुरु भएर ३ हजार रुपैयाँसम्म पर्ने फ्यानको अनुमान छ ।






