काठमाडौं । रसुवागढी र तातोपानीको विकल्पमा सरकारले मुस्ताङको कोरला नाका सञ्चालन गरेको छ । रसुवा भन्सार कार्यालय बाढीले बन्द र तातोपानी नाकामा पहिरोले अवरोध हुँदा चीनसँगको वैदेशिक व्यापार प्रभावित भएपछि, सरकारले मुस्ताङ जिल्लाको नेचुङ (कोरला) नाका भदौ ३० गतेदेखि पूर्णरूपमा सञ्चालनमा ल्याएको छ।
अर्थ मन्त्रालयका अनुसार असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयमार्फत २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालबाहक साधनमा आएका मालवस्तुको जाँचपास गरिएको छ। यस अवधिमा मात्र ३४ करोड ४७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
विभागका अनुसार हाल यस नाकामा आशिकुडा प्रणाली सुरु भइसकेको छ। साथै, नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्रअनुसार यो नाकालाई पनि प्रतितपत्रमार्फत सामान आयात गर्न (एकीकृत परिपत्र २०८१) मा समावेश गरिएको छ।
रसुवा र तातोपानी जस्ता परम्परागत नाकामा अवरोध हुँदा वैकल्पिक रुपमा मुस्ताङ नाका सक्रिय भएपछि चीनसँगको व्यापार सहज भएको भन्सार विभागले जनाएको छ।
लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द भएको र तातोपनी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएपछि सरकारले कोरला नाका पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो ।





