काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टी विभाजन नभई एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन्।
१५औँ महाधिवेशनपछि गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरेसँगै शाहीले पार्टीभित्रका सबै पक्षलाई एकजुट हुन आग्रह गरेका हुन्।
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि गरिरहेका बेला शाहीले सबैलाई समेटेर अघि बढ्न पार्टी तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘सबै मिलाएर लिन कांग्रेस तयार छ। सबै जुटौँ, कोही नफुटौँ।’
शाहीले देउवा समूहका नेताहरूलाई समेत लक्षित गर्दै पार्टीमा सबैलाई समेटेर अघि बढ्नुपर्ने सन्देश दिएका हुन्। उनी १४औँ महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्री पदमा उम्मेदवार बनेका थिए। उनी कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्।
यसैबीच, शाहीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीलाई हट्न दिइएको सरकारी सूचना तथा निर्देशनप्रति पनि आपत्ति जनाएका छन्। उनले उक्त कदमले गरिब तथा भूमिहीन नागरिकको आवासको अधिकार र राज्यको दायित्वमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
सम्मानपूर्वक बाँच्न पाउने अधिकार, उचित वैकल्पिक व्यवस्था र दीर्घकालीन पुनर्स्थापनाको सुनिश्चितता नगरी नागरिकलाई विस्थापित गर्नु न्यायोचित नहुने उनको भनाइ छ।
‘नागरिकलाई समस्याबाट मुक्त गराउनु राज्यको दायित्व हो,’ शाहीले भनेका छन्।












