काठमाडौं । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुसार हाल एकतर्फी सञ्चालन हुँदै आएको ‘बी३४५’ हवाई रुटलाई अब दुवैतर्फी बनाइने भएको हो ।

ADVERTISEMENT

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा दुवै देशका नेताहरूले नागरिक उड्डयनसम्बन्धी छलफललाई सकारात्मक रूपमा लिँदै हवाई सम्पर्क विस्तार र द्विपक्षीय आर्थिक गतिविधि बढाउन जोड दिएका छन् ।

ADVERTISEMENT

उक्त रुटलाई दुईतर्फी बनाउन आवश्यक प्राविधिक परामर्श गर्ने र त्यसका आधारमा सञ्चालनको मोडालिटीलाई अन्तिम रूप दिने सहमति भएको छ । दुवै देशबीच छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई पनि प्राविधिक परामर्शमार्फत अघि बढाइने जनाइएको छ ।

यस सहमतिले विशेषगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालले लामो समयदेखि जनकपुर र भैरहवाबाट हवाई प्रवेश विन्दु तथा पश्चिमतर्फबाट काठमाडौं प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर एयर रुट उपलब्ध गराउन भारतसँग माग गर्दै आएको छ । तर, प्रधानमन्त्री शाहको यस भ्रमणमा पनि महेन्द्रनगर एयर रुटको विषय टुंगोमा पुग्न सकेन ।

भारतले भने एयर रुटसम्बन्धी विषयलाई प्याकेजमै टुंग्याउन प्रस्ताव गर्दै आएको छ । महेन्द्रनगर एयर रुट उपलब्ध गराउने विषयसँगै भारतले पश्चिम बंगालको बागडोगरा र बिहारको रक्सौलस्थित विमानस्थलमा उडानका लागि नेपाली आकाश प्रयोग गर्न दिनुपर्ने प्रस्ताव अघि सार्दै आएको छ ।

नेपालले भने एयर रुटको विषयलाई प्याकेजमा राखेर छलफल गर्न तयार नभएको सन्देश भारतलाई दिएको छ । यस विषयमा थप प्राविधिक अध्ययनपछि मात्रै निर्णय गर्ने समझदारी बनेको छ ।

बागडोगराबाट व्यावसायिक उडान सञ्चालन गर्न दिन सकिने भए पनि त्यहाँबाट सैन्य उडान हुन नहुने नेपालको अडान रहेको छ ।