काठमाडौं । भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी संयुक्त भिजन दस्ताबेजमा खेलकुद विकास र पूर्वाधार निर्माणमा सहकार्य गर्ने उल्लेख गरिएको हो ।
‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ शीर्षकको दस्ताबेजमा नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीहरूमा तालिम लिने अवसर प्रदान गरिने जनाइएको छ ।
क्रिकेटका अतिरिक्त ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सजस्ता खेलमा पनि नेपाली खेलाडीलाई प्रशिक्षणका अवसर उपलब्ध गराउने सम्भावना खोजिनेछ । यसका लागि नेपालमा आधुनिक बहुखेलकुद केन्द्र विकास गर्ने विषयसमेत समेटिएको छ ।
त्यस्तै, संयुक्त आरोहण अभियान सञ्चालन गर्नेलगायत पर्वतीय खेलकुदमा सहकार्यको सम्भावना खोजिने भएको छ ।
नेपाल र भारतका खेलाडीलाई एकअर्काका क्रिकेट, फुटबल तथा अन्य खेलकुद लिगमा सहभागी हुने अवसर सिर्जना गर्न दुवै देशका सम्बन्धित खेलकुद निकायलाई प्रोत्साहन गरिने दस्ताबेजमा उल्लेख छ ।












