काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर बुझाउने बैंकका रूपमा नवौँ पटक सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा बैंकलाई सर्वाधिक आयकर योगदान गर्ने बैंकका रूपमा सम्मान गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरीलाई सम्मानपत्र प्रदान गरे ।
नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर दाखिला गरेको जनाएको छ ।
सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए । उनले सम्मानले कर्मचारीहरूको योगदान र ग्राहकले बैंकप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे ।
उनले करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै उत्कृष्ट ग्राहक सेवा, जिम्मेवार व्यावसायिक अभ्यास र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्याउन बैंक प्रतिबद्ध रहेको बताए ।
चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले डिजिटल सेवा विस्तार र दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको छ । बैंकले डिजिटल बैंकिङ सेवाका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
हाल बैंकले देशभरका २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।












