युरोप । शिक्षा, जीवनयापन खर्च र विभिन्न मागलाई लिएर फ्रान्स र जर्मनीमा भएका प्रदर्शन हिंसात्मक बनेका छन् । शनिबार दुवै देशका विभिन्न सहरमा ठूलो संख्यामा मानिस सडकमा उत्रिएका थिए । प्रदर्शनका क्रममा पसल लुटपाट, पेट्रोल बम तथा आतसबाजी प्रहार र प्रहरीसँग झडपका घटना भएका छन् ।
फ्रान्समा लगातार तेस्रो सप्ताहान्तमा शिक्षा क्षेत्रको सुधार र बढ्दो जीवनयापन खर्चविरुद्ध प्रदर्शन भएको छ । जर्मनीमा भने प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै सुरक्षाकर्मीतर्फ पेट्रोल बम प्रहार गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो ।
फ्रान्समा ५६० भन्दा बढी पक्राउ
फ्रान्समा शिक्षक अभाव, विद्यालय भवनको कमजोर अवस्था र विश्वविद्यालय भर्ना प्रणालीप्रति असन्तुष्टि जनाउँदै गत महिना माध्यमिक तहका विद्यार्थीले प्रदर्शन सुरु गरेका थिए । पछि श्रमिक संगठन तथा अन्य समूहहरू विभिन्न मागसहित आन्दोलनमा जोडिएपछि प्रदर्शन विस्तार भएको हो ।
एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार फ्रान्सभर करिब ३ लाख २० हजार प्रदर्शनकारी सहभागी भएको सरकारी अनुमान छ । यो संख्या अक्टोबर १७ मा सहभागी ५ लाख ५० हजार र अक्टोबर २४ मा सहभागी ४ लाख १० हजारको तुलनामा कम हो । प्रदर्शन आयोजकहरूले भने सरकारी तथ्यांकभन्दा बढी मानिस सहभागी भएको दाबी गरेका छन् ।
पेरिसको बाहिरी क्षेत्रका सडकमा सुरुमा प्रदर्शन शान्तिपूर्ण रहे पनि पोर्ते दे शारेन्तोँनजिकै तनाव उत्पन्न भएको थियो । केही प्रदर्शनकारीले प्रहरीतर्फ सिसाका बोतल र आतसबाजी प्रहार गरेपछि प्रहरीले स्टन ग्रिनेड र अश्रुग्यास प्रयोग गरेको थियो ।
फ्रान्सेली अधिकारीका अनुसार शनिबार रातिसम्म देशभरबाट ५६० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
जर्मनीमा पसल लुटपाट र प्रहरीमाथि पेट्रोल बम
जर्मनीको फ्र्यांकफर्टमा शनिबार प्रदर्शनका क्रममा नकाबधारी समूहले पसलहरूमा लुटपाट गरेका थिए । प्रदर्शनकारीले सुरक्षाकर्मीतर्फ पेट्रोल बम प्रहार गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो ।
प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरी भीडलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
फ्रान्स र जर्मनीमा भएका पछिल्ला घटनाले युरोपका विभिन्न क्षेत्रमा प्रदर्शन र सुरक्षा चुनौती बढ्दै गएको देखाएका छन् ।










