काठमाडौँ । दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायण जात्रा सुरु भएको छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म चल्ने परम्परा छ ।
चोक्टे नारायण जात्राका नामले समेत चिनिने यस पर्वमा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीक रहेका तीनवटा खट निकालेर विभिन्न टोल परिक्रमा गराइन्छ । खटको अनौठो बनावट र परिक्रमा गर्ने शैली यस जात्राको मुख्य विशेषता हो ।
अन्य जात्रामा देवताको मूर्ति माथि र गजुर तल हुने चलन भए पनि हाँडीगाउँको यस जात्रामा गजुर तल र देवताको मूर्ति माथि राखिन्छ । बाँस तथा काठको सहायताले बनाइएका खटलाई विशेष विधिबाट घुमाउँदै परिक्रमा गराइने भएकाले यो जात्रा अन्य जात्राभन्दा फरक मानिन्छ ।
परम्पराअनुसार माथिल्लो ठटाल टोलबाट ब्रह्माको, बीचको न्याल्म टोलबाट विष्णु अर्थात् नारायणको र तल्लो कोटाल टोलबाट महेश्वरको खट निकालिन्छ । तीनवटै खटको दर्शन तथा पूजाआराधना गर्न स्थानीय बासिन्दा र भक्तजन सहभागी हुने गर्छन् ।
यस जात्रामा खट सजाउन मैनबाट बनाइएका फूल प्रयोग गरिनु अर्को विशेषता हो । खट घुमाउने क्रममा झर्ने फूल टिप्न पनि मानिसहरू उत्साहित हुने गर्छन् ।
प्रचलित किंवदन्तीअनुसार एउटी महिला गर्भवती भए पनि १२ वर्षसम्म सुत्केरी हुन नसकेपछि नारायणको आराधना गर्न पुगेकी थिइन् । नारायणलाई प्रसन्न पार्न अन्यत्र नभएको जात्रा देखाउने वाचा गरेपछि उनको मनोकामना पूरा भएको र त्यसैको सम्झनामा जात्रा सुरु भएको विश्वास गरिन्छ ।
हाँडीगाउँको यो जात्रा धार्मिक आस्था, स्थानीय संस्कृति र परम्परागत कलाको विशिष्ट उदाहरणका रूपमा परिचित छ ।









