काठमाडौं । भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी, भ्रष्टाचार र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ। बजेट अधिवेशन सुरु भएकै दिन कांग्रेसले विधानसभा घेराउ गर्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको छ।

भारतीय समाचार संस्था एएनआईका अनुसार मंगलबार गैरसैंणस्थित भरारीसैंणमा विधानसभा भवन घेराउ गर्न अघि बढेका कांग्रेस नेता तथा कार्यकर्तामाथि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको हो।

ADVERTISEMENT

उत्तराखण्ड प्रदेश कांग्रेस कमिटीको आह्वानमा भएको प्रदर्शनको नेतृत्व प्रदेश अध्यक्ष गणेश गोदियालले गरेका थिए। कांग्रेसले महँगी, बेरोजगारी, भ्रष्टाचार, विकासका समस्या र राज्य सरकारका नीतिसहित १४ वटा जनसरोकारका मुद्दा उठाएको थियो।

ADVERTISEMENT

गोदियालले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए। जनतालाई राम्रो दिन आउने आश्वासन दिएर निर्वाचित भएको सरकारले राजनीतिक, सामाजिक र आर्थिक दबाब बढाएको उनको भनाइ थियो। उनले जनताका समस्या बेवास्ता गरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए।

मुख्यमन्त्री धामीको जोड विकासमुखी बजेटमा

विपक्षीको प्रदर्शनबीच उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले राज्यको समग्र विकासलाई लक्षित गर्दै पूर्ण बजेट प्रस्तुत गर्न लागिएको बताएका छन्।

उनका अनुसार बजेटमा नयाँ योजना समावेश गरिएको छ भने नवप्रवर्तनलाई प्राथमिकता दिइएको छ। सरकारले सञ्चालनमा रहेका कार्यक्रमलाई थप गति दिने पनि उनले बताए।

विपक्षीको आलोचनाले सरकारलाई अझ राम्रो काम गर्न प्रेरित गर्न सक्ने धारणा राख्दै धामीले विधानसभा बैठकभित्र महत्त्वपूर्ण विषयमा छलफल हुने बताएका छन्।

उत्तराखण्डको दुईदिने विधानसभा अधिवेशन मंगलबार सुरु भएको हो। अब सरकारले प्रस्तुत गर्ने बजेटमा रोजगारी सिर्जना, महँगी नियन्त्रण, विकास तथा जनजीविकासँग सम्बन्धित कार्यक्रमलाई कति प्राथमिकता दिन्छ भन्ने विषय महत्त्वपूर्ण हुनेछ।