काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका पीडितको सहयोगका लागि सामाजिक विकास नेपाल (एसडीएन), नेदरल्यान्ड्स र चाँगुनारायण फाउन्डेसन (सीएनएफ) ले १ करोड रुपैयाँ सहयोग गरेका छन्।
गत भदौ १० गते भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति तथा महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेपछि संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन्।
सहयोग रकमको चेक चाँगुनारायण फाउन्डेसनका अध्यक्ष मनिराज खत्रीलगायतको टोलीले शिक्षामन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरेको हो।
बाढी प्रभावित क्षेत्रमा मनोसामाजिक सहयोग
आर्थिक सहयोगसँगै एसडीएन र सीएनएफले रसुवाका छनोट गरिएका विपद् प्रभावित क्षेत्रमा ‘कला र उत्थानशीलतामार्फत उपचार’ नामक आकस्मिक मनोसामाजिक तथा सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्।
कार्यक्रमअन्तर्गत कलामा आधारित गतिविधिमार्फत विद्यार्थी, शिक्षक तथा समुदायका सदस्यलाई भावनात्मक र मनोसामाजिक सहयोग प्रदान गरिने जनाइएको छ।
दुवै संस्थाले विपद् प्रतिकार्य, पुनःस्थापना, पुनर्निर्माण, उत्थानशीलता निर्माण तथा दिगो विकासका क्षेत्रमा आगामी दिनमा पनि सरकार र स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।







