काठमाडौं । ब्रदर्स एफसी हङकङको आयोजनामा सम्पन्न ‘दशैं कप २०८३’ फुटसल प्रतियोगिताको उपाधि टिम ग्रीनले जितेको छ।दशैंको अवसरमा आयोजित एकदिने प्रतियोगितामा टिम ग्रीनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो। उपाधि विजेता टिम ग्रीनले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने टिम यल्लो उपविजेता बनेको छ।

प्रतियोगितामा टिम ग्रीनका विजय थापा उत्कृष्ट गोलकिपर घोषित भए। टिम यल्लोका सुसन मगर उत्कृष्ट रक्षक र अतित भण्डारी उत्कृष्ट खेलाडी चुनिए। त्यस्तै, टिम ग्रीनका राजकुमार ठकुरी (माने) प्रतियोगिताका उच्च गोलकर्ता बने।प्रतियोगितामा टिम ग्रीन, टिम यल्लो, टिम ब्लु र टिम पिंक गरी चार टोलीको सहभागिता थियो। प्रतियोगिता लिग प्रणालीमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।

ADVERTISEMENT

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य फुटसलमार्फत युवालाई सक्रिय बनाउनुका साथै सहभागीबीच आपसी सम्बन्ध, सहकार्य र भाइचारालाई थप मजबुत बनाउनु हो। खेलकुदलाई स्वस्थ जीवनशैली र सामाजिक सम्बन्ध विस्तारको माध्यमका रूपमा अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो।

ADVERTISEMENT

प्रतियोगिताका सल्लाहकार सुनिल थापामगर र संयोजक इन्द्र लामाले ‘दशैं कप’ले खेलकुदमार्फत विभिन्न क्षेत्रका व्यक्तिबीच आत्मीयता र भाइचारा बढाउन सहयोग गरेको बताए। ब्रदर्स एफसी हङकङका अध्यक्ष हरि गुरुङले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

क्लबले खेलकुदसँगै सामाजिक तथा सामुदायिक गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। प्रतियोगितामा खेलाडीका जर्सी, रेफ्री तथा प्राविधिक टोली, चिकित्सा टोली, पानी तथा ग्लुकोज, ट्रफी, मेडल, प्रमाणपत्र, चिया–नास्ता तथा फोटो–भिडियो कभरेजलगायतको व्यवस्थापन गरिएको थियो। ब्रदर्स एफसी दशैं कप २०८३ को मिडिया पार्टनरमा आर्थिक प्लस र अखबार नेपाल रहेका छन्।

ADVERTISEMENT