काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यस्थित मानसस पार्कबाट नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्षभन्दा बढी समयपछि उनका पति नरेश भट्टविरुद्धको मुद्दामा सोमबारदेखि अदालतमा सुनुवाइ सुरु हुँदैछ ।

२८ वर्षीया ममता सन् २०२४ जुलाईदेखि सम्पर्कविहीन छिन् । अनुसन्धानका आधारमा उनको मृत्यु भइसकेको निष्कर्षमा पुगे पनि अहिलेसम्म उनको शव फेला परेको छैन । ममताको हत्या अभियोगमा उनका पति नरेश प्रहरी हिरासतमा छन् ।

ADVERTISEMENT

स्थानीय सञ्चारमाध्यमका अनुसार मुद्दाको सुनुवाइ करिब सात सातासम्म चल्ने अनुमान गरिएको छ । प्रिन्स विलियम काउन्टीकी न्यायाधीश किम्बर्ली इरभिङले सुनुवाइका क्रममा अदालतभित्र क्यामेरा राखेर भिडियो रेकर्ड गर्न सञ्चारमाध्यमलाई अनुमति दिएकी छन् । तर सुनुवाइको प्रत्यक्ष प्रसारण भने गर्न पाइने छैन ।

ADVERTISEMENT

सञ्चारमाध्यमले रेकर्ड गरिएको भिडियो समाचारमा प्रयोग गर्न तथा तस्बिर खिच्न पाउनेछन् । यद्यपि सुनुवाइ अघि बढ्दै जाँदा क्यामेरा प्रयोगसम्बन्धी व्यवस्था परिवर्तन हुन सक्ने न्यायाधीशले बताएकी छन् ।

ममता हराएको रिपोर्ट २०२४ अगस्टमा परेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । त्यसको केही सातापछि प्रहरीले उनका पति नरेशलाई पक्राउ गरेको थियो ।

ADVERTISEMENT

अभियोजन पक्षले ममताको शयनकक्ष र बाथरुममा भेटिएको रगत तथा अन्य प्रमाण अदालतमा प्रस्तुत गर्ने तयारी गरेको छ । अनुसन्धानकर्ताहरूले ममताको मृत्यु २०२४ जुलाई ३० मा भएको हुन सक्ने बताएका छन् ।

अनुसन्धानका क्रममा नरेशले ममता बेपत्ता हुनुअघि र त्यसपछि गरेका विभिन्न अनलाइन खोजी तथा फोन गतिविधिलाई समेत प्रमाणका रूपमा प्रस्तुत गरिने भएको छ । नरेशले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।