बागलुङ । बागलुङको गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन दरमखोलामा आएको बाढीले बगाएको छ। गत असोज ११ गते आएको बाढीले खोलाको कटान बढाउँदै वडा कार्यालय भवन नै ढालेको हो।
दरमखोलाको किनारमा रहेको कार्यालय भवन बाढीले ढालेपछि वडाध्यक्ष तेजबहादुर थापा भावुक बनेका छन्। संघीयता स्थापनापछि पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित भएपछि थापाले वडा कार्यालयका लागि आफ्नै भवन निर्माण गर्न पहल गरेका थिए।
करिब ८० लाख रुपैयाँ लागतमा २०७७ साल माघमा भवन निर्माण सम्पन्न भएको थियो। तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको भवनका लागि केही जग्गा स्थानीयसँग खरिद गरिएको थियो भने केही दानबाट प्राप्त भएको थियो। भवनमा कार्यालयसँगै गाडी पार्किङ र बगैँचासमेत निर्माण गरिएको थियो।
तर अहिले भवनसँगै बगैँचा र पार्किङ क्षेत्रसमेत बाढीले बगाएको छ। भवन बन्नुअघि भने वडा कार्यालय भैरव माध्यमिक विद्यालयको खाली कोठा भाडामा लिएर सञ्चालन हुँदै आएको थियो। त्यसबापत वडा कार्यालयले मासिक ६ हजार रुपैयाँ भाडा तिर्ने गरेको थियो।
बाढीले भवनको जग कटान गर्न थालेपछि स्थानीयले महत्वपूर्ण कागजात र केही आवश्यक सामग्री बाहिर निकालेका थिए। तर अन्य सामान भवनसँगै खोलामा पुगेका छन्। अहिले पनि वडाध्यक्ष थापासहित स्थानीय युवा जोखिम मोलेर भवनभित्र प्रवेश गरी कुर्सी, टेबल तथा कम्प्युटरका पाटपुर्जा निकालिरहेका छन्।
बाढीले थापाको लाखौँ रुपैयाँ मूल्य पर्ने धानखेतसमेत बगरमा परिणत गरेको छ। तर उनी आफ्नो खेतभन्दा वडा कार्यालय भवनको क्षतिबाट बढी दुःखी छन्।
‘मेरो धान खेत बगेर मलाई केही चिन्ता लागेको छैन। म एकपटक पनि त्यो खेतमा पुगेको छैन, तर वडा कार्यालय लडेको ठाउँमा दिनमा १० पटक आउँछु। यहाँ आएर यो दृश्य देख्दा आँखा रसाउँछ,’ थापाले भने।
भवन ढले पनि नागरिकलाई सेवा प्रवाह नरोकिएको उनले बताए। अहिले नजिकैको गाउँमा एउटा घर भाडामा लिएर वडा कार्यालयबाट सेवा दिइरहेको उनले जानकारी दिए।
वडा कार्यालय भवनसँगै आफ्नो दुई कार्यकालको काम र इतिहाससमेत मेटिएको महसुस भएको थापाको भनाइ छ।
‘भवनसँगै मेरो इतिहास खोलामा मेटियो। यहाँ मेरो दुई–दुई कार्यकालको एक–एक थोपा पसिना छ। मैले गरेको एउटा उपलब्धि थियो, तर त्यो मेटियो,’ उनले भावुक हुँदै भने।
बाढीले भवनसँगै करिब १५ लाख रुपैयाँ लागतमा जडान गरिएको सोलार बत्तीसमेत बगाएको छ। गलकोट नगरपालिकाका ११ वडामध्ये उक्त भवन सबैभन्दा पहिले निर्माण गरिएको वडा कार्यालय भएको थापाले बताए।
भवन खोलामा ढले पनि अझै बलियो रहेको उनको भनाइ छ। सम्भव भए भवनलाई उठाएर पुनःस्थापना गर्ने योजना रहेको उनले बताए।
गलकोट नगरपालिका क्षेत्रमा बाढीका कारण २२ घरमा क्षति पुगेको छ। नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षति विवरणअनुसार बाढीले घर, गोठ तथा व्यवसायमा क्षति पुर्याएको छ। गलकोट–५ हरिचौर र वडा नम्बर ६ चरौंदीमा बाढीबाट सबैभन्दा बढी क्षति भएको नगरपालिकाले जनाएको छ।













