काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसी स्पेनको दोस्रो डिभिजन क्लब CD Eldense का मालिक बनेका छन्। आवश्यक नियामक स्वीकृति प्राप्त भएसँगै क्लब हस्तान्तरणको प्रक्रिया औपचारिक रूपमा पूरा भएको हो।

सन् १९२१ मा स्थापना भएको एल्डेन्सेको स्वामित्व लिएसँगै मेसीको स्पेनिस फुटबलमा क्लब मालिकका रूपमा दोस्रो लगानी भएको छ। यसअघि उनले क्याटालन क्लब कोर्नेलामा पनि लगानी गरेका थिए।

ADVERTISEMENT

एल्डेन्सेले आफ्नो आधिकारिक वेबसाइटमार्फत मेसी क्लबको नयाँ मालिक बनेको घोषणा गरेको छ। क्लबले मेसीको आगमनसँगै खेलकुद, संस्थागत तथा सामाजिक विकासलाई अघि बढाउने दीर्घकालीन लक्ष्य रहेको जनाएको छ।

ADVERTISEMENT

गत सेप्टेम्बरमा मेसी र क्लबबीच मुख्य सेयरधनी बन्ने प्रारम्भिक सहमति भएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि अहिले स्वामित्व हस्तान्तरण औपचारिक रूपमा सम्पन्न भएको क्लबले जनाएको छ।

एलिकान्टेमा आधारित एल्डेन्से हाल स्पेनिस सेकेन्ड डिभिजनमा प्रतिस्पर्धा गरिरहेको छ। २२ टोली सहभागी लिगमा क्लब पाँच अंकसहित १९औँ स्थानमा रहेको छ। लिगका सुरुआती सात खेलमध्ये एल्डेन्सेले एक खेलमा मात्र जित हात पारेको छ।

ADVERTISEMENT

३९ वर्षीय मेसी हाल अमेरिकी मेजर लिग सकर क्लब Inter Miami CF बाट व्यावसायिक फुटबल खेलिरहेका छन्। उनी सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताउन सफल भएका थिए।

मेसीले सन् २००४ मा १७ वर्षको उमेरमा FC Barcelona को सिनियर टोलीबाट डेब्यु गरेका थिए। बार्सिलोनाका लागि उनले ७७८ खेलमा ६७२ गोल गरेका थिए। सन् २०२१ मा बार्सिलोना छाडेर Paris Saint-Germain F.C. पुगेका उनी सन् २०२३ मा इन्टर मायमी पुगेका हुन्।

पछिल्लो समय पूर्व स्टार खेलाडीहरूले स्पेनिस क्लबमा लगानी गर्ने क्रम बढेको छ। मेसीका पूर्व प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोले पनि अर्को स्पेनिस क्लब अल्मेरियाको २५ प्रतिशत सेयर खरिद गरेका छन्।